झापा / मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पूर्वी पहाडी जिल्ला तेह्रथुममा पुराना र नयाँ पुस्ताबीचको प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनले नयाँ पुस्ताका युवा उम्मेदवारहरूलाई अघि सारेको छ भने नेकपा एमालेले भने पुरानै नेताहरूलाई उम्मेदवार बनाएको छ । 

एमालेले तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि पटकपटक जिल्लाको नेतृत्वमा निर्वाचित भएर परीक्षण भइसकेका नेता ६४ वर्षे विजय सुब्बालाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी ४६ वर्षे युवा नेता सीता गुरुङ चुनावी मैदानमा छिन् ।

OM Sai Pathibhara Hospital

एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष समेत रहेका सुब्बाको राष्ट्रिय राजनीतिमा राम्रो पकड छ । गीतसङ्गीतमा राम्रो दख्खल भएका सुब्बा जनताका सुखदुःखका गीत गाउने नेताका रूपमा समेत चिरपरिचित छन् । 

यसअघि दुई पटक चुनाव जितेका उनको केन्द्रीय राजनीतिमा राम्रो पकड भएपनि जिल्लाको लागि भने सम्झनयोग्य योगदान भने खासै पुराउन सकेका छैनन् । ०४८ र ०५६ मा जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका सुब्बा बीचमा एमाले छोडेर संघीय समाजवादीतिर लागे पनि ०७१ मा पुनः एमालेमै फर्किएका थिए ।

कांग्रेसले भने यसपटक पनि अघिल्लो निर्वाचनकै प्रतिस्पर्धी सीता गुरुङलाई उठाएको छ । केन्द्रीय राजनीतिमा उनको पनि कमजोर पकड होइन । उनी कांग्रेस सभापति तथा हाल प्रधानमन्त्री शेरबहादुर देउवानिकट गुरुङ ०६४ र ०७० मा निरन्तर समानुपातिकबाट संविधानसभा सदस्य बनेकी थिइन् । 

गुरुङ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री समेत भइसकेकी छिन् । जिल्लामा गरेका कामका कारण उनी निकै लोकप्रिय पनि छिन् । जिल्लामा उनले विकास प्रेमी नेताको उपमा पाएकी छिन् ।

हाल कांग्रेसको तेस्रो पटक केन्द्रीय सदस्य रहेकी गुरुङ ०७४ को चुनावमा बामगठबन्धनका उम्मेदवार खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् । त्यसबेला बामगठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र यसपटक उनको साथमा छ । 

प्रदेशसभा तर्फ पनि उस्तै अवस्था छ । एमालेले पटक–पटक मौका पाएर पनि लोकप्रिय काम गर्न नसकेका पुराना नेताहरूलाई उठाएको छ भने सत्ता गठबन्धनबाट युवा र जुझारु नेताहरू उम्मेदवार छन् । प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि यहाँ रोचक प्रतिस्पर्धा छ ।

प्रदेशसभा –१ मा नेपाली कांग्रेसका ४४ वर्षे सन्तोष सुब्बा उम्मेदवार छन् भने एमालेले ६५ वर्षे किशोरचन्द्र दुलाललाई उम्मेदवार बनाएको छ । बाबु–छोरा पुस्ताका दुलाल र सुब्बाबीच यहाँ रोचक प्रतिस्पर्धा देखिन्छ ।

तत्कालिन जिल्ला विकास समितिको सभापति रहेका दुलाल हाल एमालेको प्रदेश १ कमिटी सचिवालय सदस्य छन् । उनीसँगै मैदानमा उत्रिएका कांग्रेस नेता सुब्बा भने नयाँ अनुहार हुन् । अहिलेसम्म पार्टी राजनीतिमा लोकप्रिय रहेका सुब्बा अब जनप्रतिनिधि बनेर जिल्लाको सेवा गर्ने दाबी गरिरहेका छन् । 

त्यस्तै प्रदेशसभा –२ मा पनि बाबु–छोरा पुस्ताकै उम्मेदवार मैदानमा छन् । नेकपा एमालेले जिल्ला अध्यक्ष ६८ वर्षे तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ४० वर्षे दुर्गाप्रसाद चापागाईं उम्मेदवार छन् । 

कन्दङवा पटक–पटक अवसर पाएपनि देखिने गरी विकास गर्न नसक्ने नेताकोरुपमा चिनिन्छन् भने चापागाईं उदाउँदो भविष्यकोरुपमा परिचित छन् । केन्द्रीय नेतृत्वसँग राम्रो पकड बनाएका चापागाईंले जिल्लाको विकास निर्माणमा राम्रो योगदान पुर्‍याएका छन् । यसअघि वर्षमान पुन उर्जामन्त्री हुँदा उनको स्वकीय सचिव बनेका उनले जिल्लामा विद्युतीकरण र काठको पोल विस्थापनमा गरेको कामको चर्चा छ ।

स्थानीय तह निर्वाचनमा ६ पालिका मध्ये ३ वटा जितेको कांग्रेस प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि वर्चस्व कायम गर्न चाहन्छ । यसपटक कांग्रेसले तीन वटा स्थानीय तह जितेको छ भने अघिल्लो पटक पाँच स्थानीय तह जितेको एमाले तीन वटामा खुम्चिएको छ । 

स्थानीय चुनावको परिणामले जिल्लामा कांग्रेस पहिलो दल हो । स्थानीय तहका प्रमुखले प्राप्त गरेको मत जोड्दा कांग्रेस एमालेभन्दा १ हजार ३ सय ५९ मतले अगाडि छ । सत्ता गठबन्धन दलको सहयोगमा कांग्रेसले २३ हजार ६ सय ७७ मत प्राप्त गरेको थियो भने एमालेले २२ हजार ३ सय १८ मत प्राप्त गरेको छ ।

चुनावि परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरु गाउँगाउँ पुगिरहेका छन् । यसपटक जिल्लामा ७१ हजार ९ सय ३३ मतदाता छन् ।