बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- १५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाँट सिमा क्षेत्रबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भई हाल झापाको बिर्तामोड नगरपालिका- ५ मा डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बाराको कोल्वी नगरपालिका- ४ कि १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन् ।
उनीहरूले असार ५ गते बेलुकी ७ बजे विराटनगरको रानी सिमा क्षेत्रबाट झापा बिर्तामोड कि १३ बर्षीया नाबालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको अनुसन्धानको क्रममा बेचबिखन गर्ने उद्देश्यले भारत तर्फ लैजाँदै गरेको खुल्न आएको छ । पक्राउ परेका दुवैजनाको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।