काठमाडौं / नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायु सेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन आज नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनले प्राप्त गरेका हुन् ।

यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्नेगरी जिम्मेवारी पाएका हुन् । सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई हटाइसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै निलम्बनमा परेका छन् ।

OM Sai Pathibhara Hospital

पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले उनले निगमको अस्तव्यस्त अवस्थामा सुधार ल्याउने अपेक्षा कर्मचारीले गरेका छन् । कोभिड महामारीको बेला अत्यावश्यक स्वास्थ्य सामग्री ढुवानी गर्ने सन्दर्भमा ज्वारचन अग्रपङ्क्तिमा थिए ।

राजनीतिक र आर्थिक विवादमा नपरेका र निगमकै वरिष्ठ पाइलटलाई सरकारले कार्यकारी जिम्मा दिएकोमा आन्तरिकरूपमा सबैले सन्तुष्टि व्यक्त गरेका छन् ।