बिर्तामोड / झापा सदरमुकाम भद्रपुरबाट संघीय राजधानी काठमाण्डौ मात्रै उडान हुँदै आएको विमानस्थलबाट भारतीय पर्यटकलाई लक्षित गरी पोखरा सिधा उडान हुने भएको छ । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले अन्तर प्रादेशिक उडान अन्तर्गत भारतीय सीमावर्ती राज्य पश्चिम बंगाल र सिक्किमका पर्यटकलाई लक्षित गरी वैशाख २ गतेबाट उडान सुरु गर्ने भएको हो ।
इलामको चियाबगान , ताप्लेजुङको पाथिभरा सहित भारतको दार्जिलिङ र सिक्किम सहितका ठाउँलाई पोखरासँग जोड्नका लागि नयाँ गन्तव्यमा उठान थाल्ने निर्णय भएको बुद्ध एयरले जनाएको छ । नेपाल र भारत सहित तेस्रो मुलुकका पर्यटक सम्मको रोजाईमा पर्ने ठाउँलाई जोड्नका लागि दैनिक एउटा उडान गर्न लागिएको सो कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एकतर्फी सुरुवाती भाडादर ६ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ ।कम्पनीले पोखरा–भद्रपुर तर्फको उडान दिउँसो १: २५ बजे र भद्रपुर–पोखरा उडान दिउँसो ३: ०० बजे गर्ने तालिका रहेको जनाएको छ । उडान सुरु गर्ने घोषणासँगै बुद्ध होलिडेजले दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज समेत सार्वजनिक गरेको छ ।
भद्रपुर–पोखरा प्याकेजका लागि तयार गरिएको १५ हजार रुपैयाँ अन्तर्गत पर्यटकले दुई रात तीन दिनको प्याकेज लिन सक्नेछन् । प्याकेजमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकूलित ट्विन सेयरिङ रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको कम्पनीले जनाएको छ ।