बिर्तामोड / सामाजिक सञ्जाल टिकटकमा पोसाक र हातहतियारको दुरुपयोग गरेको भन्दै ६ जना प्रहरी कारवाहीमा परेका छन् । सुरक्षामा खटिएको बेला पोसाकको चरम दुरुपयोग गरेकै कारण उनीहरु कारबाहीमा परेका हुन् ।
कारवाहीमा पर्नेमा असई कमलेश यादव, हबलदार रेनुका सोनाम, जवान अशोक राई, प्रहरी निरीक्षक कनक शाही, प्रहरी नायब निरीक्षक (सई) थापा र सशस्त्र प्रहरी बल (एपीएफ) का जवान बलबहादुर परियार रहेका छन् ।
चलचित्र, टेलिचलचित्र र टिकटक भिडियोमा पोसाकको दुरुपयोग भएकामा ध्यानाकर्षण भएको भन्दै २०७७ साल असोज २२ गते प्रहरी प्रधान कार्यलयले प्रेस विज्ञप्ति निकालेको थियो । प्रेस विज्ञप्तिमा स्वीकृति नलिइ कुनै पनि कार्य गरे कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिइएको थियो ।
प्रहरी प्रधान कार्यालयले पोसाक र हातहतियारको दुरुपयोग गरे कारवाही गर्ने चेतावनी दिएपनि सामाजिक संजालमा पोसाकको दुरुपयोग रोकिएको छैन् ।
२०१२ मा जारी भएको प्रहरी ऐनमा प्रहरीले आफ्नो जिम्मामा रहेको बर्दीलगायतका उपकरण दुरुपयोग गर्न नहुने उल्लेख छ।
तर, टिकटकमा प्रहरीले पोसाक लगाएर भिडियो साम्रागी बनाएको प्रशस्तै देखिने गरेका छन् । यसरी प्रहरीले आफ्नो जिम्मेवारी र मर्यादाको धज्जी मात्र उडाएका छैनन्, सिंगो प्रहरी संगठनको बेइज्जत गरिरहेका छन् ।