बिर्तामोड / धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमिततालाई राजनैतिक दलले पटक पटक संरक्षण गर्दै भन्दै युवाहरू सडकमा उत्रिएका छन् । प्रतिष्ठानको  फितलो व्यवस्थापन र लाचारपन दिन प्रतिदिन बढ्दै गएको भन्दै सयौँको सङ्ख्यामा युवाहरू सडकमा उत्रिएका हुन् । घोपा बचाउ अभियानको नारा सहित निस्किएको युवाहरूको र्‍याली भानुचोक, पुतलीलाइन , बुद्ध चोक हुँदै बिपीको डेन्टलको गेट अगाडि गएर कोणसभामा परिणत भएको थियो ।

विरोध र्यालीका अभियन्ता सुदन गुरुङले भने ‘अरु बेलाको जस्तो आन्दोलन यो हैन यो अरु भन्दा फरक छ । हामी कुनै पार्टीमा आवद्ध भएर आन्दोलन गरेको होइनौँ । हामी नेपाली हौँ यहाँको सार्वजनिक सम्पत्तिको माया हामीलाई पनि छ , हाम्रा आफन्त पनि उपचारका लागि यही आउँछन् । कति जनाले अस्पतालमा सानो सानो उपचार नपाएर रिफर हुँदा बाटोमै ज्यान गुमाउनु पर्छ । लापरवाहीका कारण बिपीमा कति जनाले ज्यान गुमाउनु परेको छ । यो अति भो हामीले धेरै आफै भोगेका छौ । धरानको मात्र सम्पत्ति हैन बीपी त्यसैले हामी हाम्रो सम्पत्ति र अधिकारको लागि लड्छौ । ’

OM Sai Pathibhara Hospital

यस्तै अभियानमा सहभागी एक युवाले भने ‘ हाम्रो अस्पताल सुर्धानु पर्यो कि त हामी उहाँहरूलाई सुर्धाछौँ , टेन्डर देखी लिएर सबै कुरा पारदर्शी हुनुपर्छ , हामीलाई मतलब छैन् हामी भोटे कुकुर हौ हामी टोके पछि रगत निकाले रै छाड्छौ ।’ 

अभियान कर्ताहरूले प्रतिष्ठानका सबै पदाधिकारीहरूलाई गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । उनीहरूले भने तीन वर्षदेखि रोकिएको फ्याकल्टी शिक्षकको बढुवा प्रक्रिया एक महिनाभित्र सुरू गर्ने, कोभिड भत्ता उपलब्ध गराउने, शिक्षकलाई तालिम दिने तथा आवास, इन्टरनेट लगायत सुविधा उपलब्ध गराउने प्रतिबद्धतामा  प्रतिष्ठानका  उपकुलपति लगायत सबै पदाधिकारीले हस्ताक्षर गरेका थिए । तर अहिले सम्म कुनै बुँदा कार्यान्वयनमा आएको छैन ।