काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गरेका छन् । 

देउवा र मोदीले शनिबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको रेल लिंक उद्घाटन गरेका हुन् ।

OM Sai Pathibhara Hospital

देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि रेल प्रस्थान गरेको हो । कुर्थाबाट घुमेर जनकपुरधाम स्टेसन आएपछि रेलको औपचारिक उद्घाटन कार्यक्रम हुनेछ । 

रेल उद्घाटन भएसँगै आइतबार देखि बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर–कुर्था खण्डमा चल्ने रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । 

झाका अनुसार अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । टिकटमा क्यूआर कोड हुनेछ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ । 

जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरेको महाप्रबन्धक झाले बताए ।