एजेन्सी / युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा आठ हजारभन्दा बढी श्रमिक कार्यरत रहेको पाइएको छ । युक्रेन र रसिया युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत आठ हजारभन्दा बढी नेपाली श्रमिक प्रभावित हुने भएका छन् ।
रोमानिया, पोल्याण्ड तथा हंगेरीमा रहेका आठ हजार १५ नेपाली प्रभावित हुने देखिएको हो । दुई देशबीच तनाब बढ्दै गए अन्य देशमा समेत युद्धको असर देखिने भएकाले त्यहाँ रहेका श्रमिकलाई सुरक्षित रहन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले युक्रेन र रसियाबाट नेपाली श्रमिकको माग तत्काल नआएकाले श्रम स्वीकृति रोक्नुपर्ने अवस्था भने नरहेको बताए । उनले यहीबीच ती देशबाट माग आए श्रम स्वीकृति रोकिने जानकारी दिए ।
विगत ३ वर्षयता वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका आठ हजारमध्ये रोमानियामा पाँच हजार ३ सय ५, पोल्याण्डमा २ हजार २ सय १३, रसियामा ३ सय ६०, हंगेरीमा ५३ र युक्रेनमा ८५ श्रमिक कार्यरत रहेको देखिन्छ । आजको कारोबार दैनिकमा समाचार छ ।