काठमाडौँ / यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावको मौन अवधि शुरु भएको छ । आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । 

मौन अवधि सुरु हुनु अगाडि नै निर्वाचन चिन्हसहित प्रचार सामाग्री हटाउनुपर्ने लगायत आचारसंहिता पालना गर्न आयोगले निर्देशन दिइसकेको छ ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय सभा सदस्य चुनावको मतदान हुने तीन सय मिटर वरपरको ठाउँमा भएका पर्चा, पम्प्लेट र पोस्टर हटाउन आयोगले निर्देशन दिएको छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । 

साथै मौन अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट पनि चुनाव प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ । 

मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ ।

आयोगका अनुसार चुनावका लागि सातै प्रदेशमा कुल २०२५ मतदाता छन् । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।

एमालेका ८, एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४, कांग्रेसका ३ र १ जना मनोनीतको कार्यकाल फागुन २० मा सकिँदैछ । 

फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रिय सभा सदस्यको चुनाव हुन लागेको हो ।  निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।

प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।

तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । सो चुनावबाट ७ महिला, ३ दलित, २ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र ७ अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रङ्गको मतपत्र प्रयोग हुने छ । रातो रङ्गको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रङ्गको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।