काठमाडौं / सरकारले काठमाडौं उपत्यकामा सवारीसाधन पार्किङलाई व्यवस्थित बनाउन विभिन्न ३६ ठाउँमा बहुतल्ले पार्किङ बनाउने भएको छ ।
नगर विकास कोषले उपत्यकाका ३६ ठाउँमा बहुतल्ले मेकानिकल पार्किङ निर्माण गर्न लगानीका लागि प्रस्ताव आह्वान गरेको हो । पार्किङ बनाउदा ८ आना भन्दा बढी क्षेत्रफल भएका जग्गामा आयोजना निर्माण तथा संचालन गर्न इच्छुक स्थानीयतह, सरकारी तथा गैर सरकारी संस्थाले निर्माणका लागि प्रस्ताव गर्न सक्नेछन् ।
माघ २५ गतेभित्र इच्छुक सरकारी तथा निजी संस्थाले आवश्यक कागजपत्रहरू सहित कार्यालयमा प्रस्ताव पेश गर्न सक्नेछन् । कोषमा प्राप्त प्रस्तावहरू कोषको नियमअनुसार छनोट गरी आवश्यक कार्य अगाडि बढाइने छ ।
बहुतले पार्किङ निर्माणका लागि इच्छुक सरकारी तथा निजी संघ संस्थाले जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी, नापी नक्साको सक्कल प्रति, संघ संस्थाको नवीकरण सहितको दर्ता प्रमाणपत्रको प्रतिलिपी र प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय सहित कागजपत्र बुझाउनु पर्ने छ ।
यी हुन् बहुतल्ले पार्किङ बन्ने ठाउँहरू
कोषका अनुसार काठमाडौंको थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कलङ्की, कुलेश्वर, बल्खु, नयाँसडक, ठमेल, नयाँ बानेश्वर, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल, मित्रपार्क, लैनचौरमा बहुतल्ले पार्किङ स्थल बनाउन प्रस्ताव आह्वान गरेको हो ।
त्यसैगरी, गैह्रीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपण्डोल लगायतका स्थानहरूमा बहुतल्ले पार्किङ निर्माण गर्ने तयारी रहेको छ । सो स्थानका मुख्य व्यावसायिक सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरूमा बहुतल्ले पार्किङ बनाउने तयारी भएको हो ।






































