काठमाडौँ / भारतमा कोभिड संक्रमण फेरि तीब्र रूपमा बढ्न थालेपछि राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु लगाइएको छ । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण सङ्क्रमितहरूको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

यस अघि छिमेकी राज्य उत्तर प्रदेश र हरियाणामा शनिबारदेखि नै रात्रिकालीन कर्फ्यु लागिसकेको छ ।

कर्फ्यु लागेसँगै अत्यावश्यक सेवाहरू प्रभावित नहुने र स्वास्थ्य सुरक्षालाई ध्यान दिइने राज्य सरकारले भनेको छ ।

राति ११ बजेपछि बजार, पसल, तथा मानिसको आवतजावतमा पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ । अन्य समयमा मास्क लगाएर हिँड्ने तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।

नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । 

राज्य सरकारका अनुसार राज्यमा कोरोना संक्रमित दरमा ०।५ प्रतिशत वृद्धि भएको जनाएको छ ।

भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन्। उनीहरूमध्ये ५२९ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।

आइतबार मात्रै महाराष्ट्रमा सबैभन्दा बढी ३१ जनामा ओमिक्रोनका संक्रमित फेला परेका छन् । केरलामा १९,  चण्डीगढ र मध्य प्रदेशमा ९, ओडिसामा ४, तेलंगनामा ३, आन्द्र प्रदेशमा २ हिमाञ्चल प्रदेशमा १ जनामा ओमिक्रोन फेला परेको छ ।

अंग्रेजी नयाँ वर्षमा होटल, रेस्टुरेन्ट, सांगीतिक क्लबलगायतका बढी भिडभाड हुने क्षेत्रहरूमा मानिसहरूको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यु लगाइएको छ ।