काठमाडौँ / भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टको ओमिक्रोनबाट २१३ जना सङ्क्रमित भएका छन् । 

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ओमिक्रोन संक्रमित हुनेमा सबैभन्दा धेरै दिल्लीमा छन् । दिल्लीका ५७ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरूले जनाएका छन् ।

यस्तै कर्नाटकमा १९, राजस्थानमा १८, केरलामा १५, गुजरातमा १४, जम्बु काश्मिरमा ३, उडिसा र उत्तर प्रदेशमा २ २ तथा आन्द्रा प्रदेश, चण्डीगढ, लद्दाख, तमिलनाडु र पश्चिम बङ्गालमा १ १ संक्रमित फेला परेका छन् । 

मन्त्रालयका अनुसार ओमिक्रोन संक्रमित ९० जना निको भइसकेका छन् भने १२३ जना सक्रिय संक्रमित छन् ।
भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमित १८ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसबाट ६ हजार ३ सय १७ जना संक्रमित थपिएका छन् ।

यो अघिल्लो दिनको तुलनामा १८।६ प्रतिशतले बढी हो। हाल भारतमा कोरोनाका सक्रिय संक्रमित ७८ हजार १ सय ९० जना छन् ।
यस्तै भारतमा निको हुने दर ९८।४० प्रतिशत छ। पछिल्लो २४ घन्टामा ६९०६ जना निको भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घन्टामा ३ सय १८ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।