बिर्तामोड (गोरखापत्र दैनिकबाट)  दशैँ–तिहार सकिएसँगैै देशभरका विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेका छन् । सरकारले यो वर्षकौ शैक्षिकसत्र असार १ गतेबाट चैत मसान्तसम्मलाई तोकेको छ ।

वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएसँगै विद्यालय बन्द थिए । पठनपाठन ठप्प थियो । कोरोना संक्रमण घट्दै गएसँगै विद्यालय भौतिक रुपमै सञ्चालन हुन थालेका हुन् ।

OM Sai Pathibhara Hospital

सरकारको मापदण्डलाई आधार भान्ने हो भने अब पाँच महिनामा शैक्षिकसत्र सकिन्छ । तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिकसत्र चैत मसान्तमै सक्ने सोच बनाएको छ ।

एक महिनाको अवस्थालाई हेरेर मात्र शैक्षिकसत्रको बारेमा बोल्न सकिने शिक्षा तथा मानव स्रोत विकास केन्द्र सूचना अधिकारी माधवप्रसाद दाहालले बताए । ‘पुस मसान्तसम्म विद्यालयले कति पाठ्यक्रम सक्छन् हेरौँ ,त्यसपछि मात्र शैक्षिकसत्रलाई चैतमै सकेर वैशाखदेखि नयाँ सत्र सुरु गर्ने वा जेठ मसान्तसम्म लाने भन्ने विषयमा छलफल हुन्छ,’ दाहालले भने ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिकसत्र चैतमै सकिन्छ भनेर भन्न नसकिने बताएका छन । ‘हामीले यस वर्षको शैक्षिकसत्र चैत मसान्तसम्म सक्ने त भनेका हौँ तर एक–डेढ महिनापछि मात्र शैक्षिकसत्र कहिले सकिन्छ भनेर भन्न सकिन्छ,’ शर्माले भने ।