बिर्तामोड (अन्नपूर्ण पोस्ट दैनिकबाट) पोखरा–१५ अमिनतरास्थित सेती नदी किनारको बस्ती पोहोरसम्म जोखिमपूर्ण मानिँदैनथ्यो। पोखराको मुख्य बजारबाट कुनो पर्ने भएकाले घडेरी पनि केही सस्तै थियो। यही कारण धेरैले अमिनतरा रोजे। तर, गत वर्ष हिउँदमा सबैलाई त्रसित बनाउँदै नदीको डिल फुसफुस खस्दै बग्न थाल्यो। बस्तीनजिकै जमिन चिरा पर्‍यो। दुई घरको आधा भाग नै सेतीमा मिसिन पुग्यो।

यो वर्ष वर्षायामयता घरै छाडेर डेरामा बस्दै आएको स्थानीय कमला विक सुनाउँछिन्। उनी बिहानै उठेर घर के भो भनेर हेर्न जान्छिन्। विकले कतारमा श्रीमान्ले श्रम गरी पठाएको पैसाले घडेरी किनेर घर बनाएकी थिइन्। तर, आडमै छिमेकीको घर सेतीको डिलसँगै आधा खसेपछि उनको निद्रा हराएको छ।

OM Sai Pathibhara Hospital

सेतीको डिल गत जेठ ३१ गतेदेखि पुनः खस्दा एउटा काठ उद्योगसहित दुई घरमा क्षति पुर्‍यायो। त्यसपछि किनारका ६ घरपरिवारलाई सुरक्षित ठाउँमा बस्न भनिएको वडाध्यक्ष प्रकाश पौडेल बताउँछन्। सेतीको खोच खस्न नरोकिएपछि गत हिउँददेखि नै पोखरा महानगरपालिकाले मापदण्डभन्दा वरसम्मै घर बनाउन रोक लगाइएको वडाध्यक्ष पौडेलको भनाइ छ। महानगरपालिकाले नदीका दायाँ–बायाँ ठाउँअनुसार १०, २५ र ३० मिटर मापदण्ड तोकेको छ।

दायाँ–बायाँ ७५÷७५ मिटरमा भौतिक संरचना बनाउँदा जोखिम हुने सन् १९९८ को एक अध्ययनले देखाएको छ। उक्त अध्ययन टोलीको सुझावलाई बेवास्ता गर्दै महानगरपालिकाले मापदण्ड घटाइरहेको छ। सेतीको डिल खस्न थालेपछि भने ३० मिटरभन्दा वरसम्म कुनै संरचना नबनाउन महानगरले भनेको हो।

पोखराको सेती किनारमा सबैभन्दा बाक्लो बस्ती पुरानो बजार महेन्द्रपुलमा छ। पुरानो बजार भएकाले धेरै घर मापदण्ड तोकिनुअघिकै छन्। नयाँ घर पनि नदीको मापदण्डले तोकेको क्षेत्रभित्रै बनेका छन्। महानगरपालिकाले महेन्द्रपुल क्षेत्रमा पुराना घरको हकमा किनारबाट पाँच मिटर मापदण्ड तोकेको छ। त्यसपछिको मापदण्डभित्र बनेका सेफ्टिटंकी, सोकफिटलगायत अन्य भौतिक संरचना जग्गाधनीलाई नै एक महिनाभित्र अनिवार्य हटाउन लगाउने भने पनि २०७५ पुस ६ को निर्णय अझै कार्यान्वयन भएको छैन। यसरी हटाइएका स्थानमा फुटपाथको ट्र्याक खोल्ने निर्णय पनि महानगरपालिकाले गरेको छ। तर, त्यो निर्णयअनुसार संरचना नै नहटेपछि फुटपाथको ट्रयाक खोल्ने सम्भावना नै देखिएको छैन।

नारायणस्थान पुल, महेन्द्रपुल, राममन्दिर, तुल्सीघाट ढुंगेसाँघुलगायत स्थानमा किनारबाट ३० मिटर दायाँ–बायाँ भौतिक संरचना निर्माण गर्न नपाइने मापदण्ड छ। तर, महेन्द्रपुल, पृथ्वी चोकलगायत ठाउँमा मापदण्ड मिचेर नयाँ घर बन्ने क्रम रोकिएको छैन। जोखिम क्षेत्रका व्यक्तिको लालपुर्जाभित्रको जमिन अधिग्रहण गरी सुरक्षित ठाउँमा बस्ने व्यवस्था महानगरपालिका, प्रदेश र संघ सरकारले गर्नुपर्ने नागरिक समाज पोखराका पूर्वसंयोजक विष्णुहरि अधिकारी बताउँछन्। किनारमा बनेका घरका फोहोर पानी र अन्य फोहोरसमेत नदीमा सोझिँदा नदी पनि प्रदूषणको चपेटामा पर्दै गएको उनी बताउँछन्।

सेती नदी, फिर्के खोलालगायत प्राकृतिक स्रोत संरक्षणमा महानगरपालिकाले पहल गरिरहे पनि अतिक्रमण र मापदण्ड मिच्ने काम नरोकिएको प्रवक्ता धनबहादुर नेपाली बताउँछन्। पोखरा–५ का वडाध्यक्ष, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीसहितको टोलीले गत साता फिर्के खोला अतिक्रमण भएको क्षेत्रको अनुगमन गरेको थियो। सेती नदीजस्तै फिर्के खोला पनि अतिक्रमणमा परेको प्रवक्ता नेपालीको भनाइ छ।

नदी, खोला, ताल संरक्षण गर्न महानगरपालिकाले अतिक्रमण गरी, मापदण्ड मिचेर बनाइएका संरचना भत्काए पनि त्यही ठाउँमा पुनःर्निर्माणका काम गर्ने गरेकोले समस्या भएको उनको भनाइ छ।

विज्ञहरूले सेतीमा फेरि ठूलो बाढी आउन सक्ने चेतावनी दिएका छन्। त्यसले किनारमै बनेका बस्ती जोखिममा पर्न सक्ने उनीहरूको भनाइ छ्। इन्जिनियर नारायण गुरुङका अनुसार वर्षायाममा त्यस्तो बाढी आएको भए कल्पना गर्नै नसक्ने गरी जनधनको क्षति हुन सक्थ्यो।

खानी तथा भूगर्भ विभाग र जर्मनीको भूगर्भ विज्ञान तथा प्राकृतिक स्रोतसम्बन्धी संस्था बीजीआरले सन् १९९८ मा तीन वर्ष अध्ययन गरेको थियो। उक्त अध्ययनले सेती खोचमा मापदण्डभित्र संरचना बनाउनुलाई जोखिम मानेको इन्जिनियर किसानसिंह गुरुङ बताउँछन्। उनी उक्त अध्ययनमा सहभागी थिए। पोखराको सेती नदी अरूभन्दा भिन्न रहेको उनी सुनाउँछन्। अमिनतरामा सेतीको डिल खसेजस्तै अन्यत्र पनि खस्न सक्ने र सेतीको खोच फराकिलो बन्दै जाने भएकाले यसतर्फ सचेत रहनुपर्ने भूगर्भविद् कृष्ण केसी बताउँछन्। अरू नदीमा बाढी आउँदा नदी किनारका बस्तीमा पस्ने हुन्छ। तर, पोखराको बजारभित्र सेती नदी गहिरिएर बगेकाले भित्र–भित्र कटानले डिल नै खसेर बस्ती जोखिममा पर्ने विज्ञले बताएका छन्।

पोखराको मुख्य बजारमा केआईसिंह पुलबाट ढुंगेसाँगु क्षेत्रमा सेती गहिरिएर बगेको छ। यसैले यो क्षेत्र भूकम्प जाँदा अझै धेरै जोखिम रहेको विज्ञ बताउँछन्। सेती गहिरिएर बगेको स्थान मात्र होइन अन्यत्र पनि किनारमै बस्ती बसेका छन्। यी क्षेत्रमा भने बाढी आउँदा धेरै असर गर्ने गर्छ। पोखरा–१ सेती किनार शान्ति टोलमा २ सय घरपरिवार बस्दै आएका छन्। लालटिन बजारमा २ सय २० घरधुरी छन् । पोखरा–११ रामघाटमा पनि किनारमै १५ घरपरिवार बसेका छन्। वर्षायाममा नदी थुनिँदा घरै डुवानमा पर्ने गर्छ। पोखरा–९ पासपार्क क्षेत्रमा ६ सय ६६ परिवार छन्।