बिर्तामोड (अन्नपूर्णपोस्ट दैनिकबाट) पटक–पटक जलवायु परिवर्तनका बहस हुन्छन्। अन्य क्षेत्रका असरलाई बहसमा ल्याइन्छ। तर, कृषि उत्पादनमा परेका प्रभावमा खासै ध्यान दिइँदैन। त्यसले भविष्यमा खाद्य संकट आउने कृषि विज्ञहरू औंल्याउँछन्। जलवायु परिवर्तनले बालीनालीको उत्पादन घट्दै छ। असोज अन्तिम साता परेको बेमौसमी वर्षाले मुलुकभर डुबान र बाढीले ठूलो धनजनको क्षति भयो। जसबाट करिब ११ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुग्यो। वर्षाले ४ लाख २४ हजार ११३ मेट्रिक टन धान नोक्सान भयो।
जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावका कारण यो वर्ष कृषिबाली लगाउने र भित्र्याउने अनुकूलता नमिलेको नेपाल कृषि अनुसन्धान परिषद्का बाली विज्ञ डा। टीका कार्की बताउँछन्। पछिल्लो समय चाहेको बेला मनसुन भएको छैन। मनसुनको अवधि ४ महिना हुन्थ्यो। अहिले साढे २ महिनामै मनसुन फर्कियो। यही परिवर्तनकै कारण बेमौसमको वर्षाले मुलुकभर अर्बौंको क्षति भएको उनको तर्क छ।
उनका अनुसार विस्तारै हिमाल पग्लिएर आकार घट्दै गएपछि कृषिक्षेत्रमा अड्चन आइपरेको हो। ‘उत्पादनका लागि माटो, सिँचाइ, चिस्यान, बिउ, मल र जनशक्ति जरुरी छ। जलवायुबाहेक माटोको उर्बराशक्ति रासायनिक मलले गर्दा खराब भएको छ,’ उनले भने।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा। रामकृष्ण श्रेष्ठका अनुसार केही वर्षअघिसम्म जलवायु परिवर्तन मात्रै गफको विषय थियो। अहिले हाम्रो घर–आँगनमै आइसकेको बताउँछन्। उनले उदाहरण दिँदै भने, ‘अहिले बेमौसमी वर्षा भयो, यस्तो कहिल्यै पनि थाहा थिएन। यसले भावी दिनमा अझै चुनौती थप्ने अध्ययनहरूले देखाइसकेका छन्।’
मन्त्रालयका बाली विकास तथा कृषि जैविक विविधता विभागका डा। श्रेष्ठ वैज्ञानिकहरूले अबको ८० वर्षमा नेपालका हिमाल दुईतिहाइसम्म पग्लिएर सकिने अनुमान गरेको सुनाउँछन्। ‘कतिपयले त अझै धेरै हुने अनुमान पनि गरेका छन्। सन् २००८ सम्ममा हामीले २९ प्रतिशत हिउँ गुमाइसक्यौं भन्ने छ। यसको असर कृषिमा चाहिँ बढी पर्छ,’ उनले भने।
उनका अनुसार कृषिमा तापक्रम, आद्रता, पानीको बढी भूमिका हुन्छ। पछिल्लो समय तापक्रम बढेकाले जमिन सुक्खा हुने क्रम बढ्यो। जसले हिमरेखामाथि सर्न थाल्यो। ‘जलवायु परिवर्तनकै कारण पहिला स्याउ फल्ने ठाउँमा अहिले सुन्तला फल्न थाले। सुन्तलाका ठाउँमा आँप फल्न थालेको स्थिति छ,’ उनले भने। हिमरेखा माथि सरेपछि यसले खेती गर्न अलिकति फाइदा भए पनि धेरै बेफाइदा नै भएको उनको भनाइ छ। विभिन्न अध्ययनअनुसार वैज्ञानिकहरूले सन् २०५० सम्ममा मकैको १९ र गहुँको ५० प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरेको डा। श्रेष्ठले औंल्याए। अब खाद्य संकट हुनसक्ने भएकाले खाद्य सुरक्षातर्फ सजग नभए भोकमरी हुनसक्ने उनले बताए।
जलवायु परिवर्तनकै कारण तराईमा पानीको मात्रा घट्दै गएको छ। पहाडमा मुहानहरू सुक्दै छन्। कृषिका लागि अत्याधिक पानी चाहिन्छ। पानीको स्रोत घट्दै गए खेती गर्न सकिँदैन। बाली बिरुवाको स्वाभाविक जीवनचक्र हुन्छ। हुर्किने, बढ्ने, फल लाग्ने अवधि हुन्छ। ‘तापक्रम बढी भए फूल सुक्छ। दाना लाग्दैन। धेरै चिसोमा पनि फूल मर्छ। यसर्थ पछिल्लो समय धेरै चिसो र धेरै गर्मी बढ्दा बालीको फल र फूल लाग्नमा असर परेको छ,’ डा। श्रेष्ठ बताउँछन्।
यसपटक कात्तिकमा पानी पर्यो। यसअघि यस्तो बेमौसमी वर्षा भएको थिएन। अचानकको वर्षा र सुक्खायाम भएपछि कतिबेला बाली लगाउने, कतिबेला भित्र्याउने यकिन भएन। त्यसैले अबका प्रयास जलवायु परिवर्तन अनुकूल कृषि अभ्यास गर्नुपर्छ। होइन भने अब कृषि र खाद्य सुरक्षामा ठूलो चुनौती हुने उनको तर्क छ।
यसकारण कृषिमा जलवायु परिवर्तनको असर र यसलाई न्यूनीकरण गर्न छुट्टै केन्द्रीय निकाय जरुरी भएको उनले औंल्याए। उनका अनुसार अबका दिनमा किसानले गर्ने खेती प्रविधिलाई जलवायु अनुकूल बनाउनुपर्छ। अर्को रासायनिक मलको प्रयोगलाई कम गरेर अर्गानिक खेतीमा जोड दिन जरुरी छ। साथै कृषकहरूले मौसम पूर्वानुमानको सूचनालाई ध्यान दिएर काम गर्न पनि उनले सुझाव दिए। खास गरेर रैथाने बाली जलवायू अनुकूल हुने भएकाले आगामी दिनमा यसतर्फ केन्द्रित हुन पनि सुझाव दिए।
जैविक विविधताले कृषि उत्पादन प्रणालीसँग आबद्ध विभिन्न पर्यावरणीय सेवाहरू जस्तै, माटोको पोषण तत्व चक्र, जैविक वस्तु कुहाउन मद्दत गर्ने, परागसेचन, माटोको उर्वरा शक्ति, कार्बन सञ्चितीकरण आदिमा सहयोग गर्ने जीवको संरक्षण गरी जमिनको उत्पादकत्व बढाउन मद्दत गर्छ। त्यसैले जैविक विविधताले मानव स्वास्थ्य र वातावरणमा पर्न सक्ने नकारात्मक प्रभाव र जोखिमलाई पनि कम गर्छ।
अध्ययनहरूले देखाएअनुसार कृषि जैविक विविधतालाई पनि जलवायु परिवर्तनले असर गर्छ। परिवर्तित जलवायुसँग अनुकूल बन्न नसकेर कतिपय जातका धान हराउन थालेका छन्। पाँचथर जिल्ला कृषि विकास कार्यालयबाट प्रकाशित एक तथ्यांकअनुसार ४४ वटा स्थानीय धानका जातमध्ये १७ वटा लोप भइसकेका र २२ जातका लोपोन्मुख अवस्थामा छन्।
अचेल किसान नयाँ बालीप्रति आकर्षित छन्। पुराना बाली हराउन थालिसके। जसले जैविक विविधतामा ह्रास आएको छ। जलवायु परिवर्तनसँगै बढ्दो किटनाशक औषधि र रासायनिक मलको प्रयोग पनि जैविक विविधता नाश हुनुको अर्को प्रमुख कारण हो।
किटनाशक औषधिको प्रयोगले पर्यावरणमा भएका हानिकारक किरामात्र नभई फाइदाजनक किरालाई पनि हानि गर्छ। रासायनिक मलको बढ्दो प्रयोगले माटोको अम्लीयपन बढेर त्यहाँ रहने जीवाणु र जैविक विविधतामा असर पर्छ।