काठमाडौं/ माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । थाइल्याण्डको बैङ्ककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको शरीरमा रहेको अत्याधिक जन्डिसको मात्रा घट्दो क्रममा रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै उनको निजी सचिवालयले जनाएको छ।

सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १ दशमलव ५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रूपमा बढेर ३४ पुगेपछि चिकित्सकहरूले बैंकक रेफर गरेका थिए। तर, अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको उपचारमा संलग्न डा। नाथाभुत सिरिमोन्तापोनले जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital

खाना खान अरुचि हुने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ । जन्डिसको मात्रा अत्याधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुुमेरु अस्पताल लगिएको थियो ।

तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको थियो । चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो ।