विराटनगर / मोरङको विराटनगरस्थित कोशी अस्पतालमा नवनिर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्लान्टको उद्घाटन गरेका हुन् । 

नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा अक्सिजन प्लान्टको निर्माण गरिएको हो । उद्घाटन गरिएको उक्त प्लान्ट अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष प्रा. डा. भुपेन्द्र बस्नेतले मन्त्रालयका सचिव डा. रोशन पोखरेल र कोशी अस्पतालका मेसु डा. चुमनलाल दासलाई हस्तान्तरण गरेका छन् । 

OM Sai Pathibhara Hospital

प्लान्ट निर्माण गर्न अमेरिका नेपाल मेडिकल फाउन्डेसनले एक करोड सात लाख रुपैयाँ सहयोग गरेको हो । कोशीमा जडान भएको अक्सिजन प्लान्ट पिएसएस सिस्टमको रहेको छ ।

अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्दा सिलिन्डर बोकेर निजी उद्योगमा जानुपर्ने समस्या पनि अन्त्य हुने अमेरिका नेपाल मेडिकल फाउन्डेशन नेपालका अध्यक्ष तथा वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राध्यापक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । 

अक्सिजन प्लान्टदेखि उत्पादन भएको अक्सिजन मेन लाइनमा जडान गरिएको छ । अक्सिजन प्लान्टदेखि आएको अक्सिजन अस्पतालको आकस्मिक कक्षदेखि पूर्व पटी रहेको मुख्या लाइनमा आएर होल्ड हुने व्यवस्था मिलाएको र आकस्मिक, अर्थो, कोभिड वाड, आइसियू, मेडिकल र जेनेरल वडामा अक्सिजन जाने सिस्टमको विकास गरिएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । 

कोशीमा अक्सिजन आवश्यक पर्ने विरामीको चाप र मात्र हेरेर खपत हुने गर्दछ । ‘दोस्रो लहरमा फैलिएको कोभिड –१९ को बेलामा दैनिक ४ सय सिलिन्डर पनि खपत भएको थियो । अहिले पनि कोभिडका १८ देखि २० जना बिरामी छन् । अहिले दैनिक १ सय ५० देखि २ सय सिलिन्डर अक्सिजन आवश्यक रहेको दासले जानकारी गराएका छन् ।