बिर्तामोड / कोरोना महामारीको सुरुवाती समय ०७७ साल वैशाखमा बिमा कम्पनीले सुरु गरेको कोरोना बिमा कार्यक्रममा हजारौं नागरिक सहभागि बनेका थिए । हजारौँले भावी दिन अनि समस्याको सुरक्षाका लागि भन्दै नेपालमा कोरोना बिमा सञ्चालन गर्ने बिमा कम्पनीहरूमा कोरोना बिमा गरेका थिए । कोरोना संक्रमितका लागि बिमा कम्पनीले ल्याएका आकर्षक योजनामा आम नागरिक आकर्षित हुनु पनि स्वभाविक नै रहेको थियो ।

सो समयमा कोरोना बिमाका लागि बिमा कम्पनीबीच तिव्र प्रतिष्पर्धा समेत देखिएको थियो । कोरोना बिमा गर्ने मध्ये हालसम्म १ लाख ५२ हजार जनाले भुक्तानीका लागि आवेदन दिएका छन् । आवेदन दिएका मध्ये करिव १४ हजार जनाले मात्रै कोरोना बिमा वापतको रकम बिमा कम्पनीबाट भुक्तानी पाएका छन् । भुक्तानी नपाएकाले सरकारी निकाय र अदालत सम्ममा मुद्दा दायर गरेका छन् ।

कोरोना बिमा गरेका मध्ये भुक्तानीका लागि बिमा कम्पनीहरूमा आवेदन दिएका १ लाख ३८ हजार जनाले भुक्तानी पाएका छैनन् । बिमा कम्पनीहरूले कोरोना बिमा वापत ११ अर्ब ५३ करोड ४३ लाख बिमा रकम भुक्तानी गर्न बाँकी रहेको राष्ट्रिय बिमा समितिले जनाएको छ । समितिले बिमा कम्पनीहरूले हालसम्म करिव ३ अर्ब ५० करोड भुक्तानी गरेका छन् ।