बिर्तामोड / कोरोनाको सङ्क्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताएका छन् । 

उनका अनुसार कोरोनाका बिरामी अस्पतालमा समेत घटेका छन् । दुई महिना अघिसम्म दैनिकजसो को्रोनाको कारण चारदेखि पाँच जनासम्मको मृत्यु हुने गरे तापनि हाल आएर एक वा दुईको मात्र मृत्यु भइरहेको उनले बताएका छन् ।  

OM Sai Pathibhara Hospital

झापामा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९८ जना पुगेको छ । दैनिकजसो जिल्लाका विभिन्न पालिकामा एन्टिजेन परीक्षण भईरहेको छ । हालसम्म एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या १९ हजार २७९ जना रहेका छन् । मेची कोभिड अस्पताल र कनकाई पिसीआर ल्याबमा गरी ८४ हजार ३१ जनाको पिसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


झापामा कूल सङ्क्रमितको सङ्ख्या २४ हजार १० पुगेकोमा एक हजार २४५ जना अस्पताल र होम आइसोलेसनमा रहेका छन् भने २२ हजार ५०१ जना निको भएर घर पठाइएको उनले बताएका छन् ।  

“विगतमा एकै दिन कोडिभ–१९ बाट सङ्क्रमित हुनेको दर ३०० सम्म पुग्थ्यो”, उनले भने, “खोप लगाउन सुरु गरेसँगै सङ्क्रमितको दर घटेर ८० देखि ९० मा झरेको छ ।”  जिल्लामा हालसम्ममा एक लाख ६२ हजार ६८० ले पूर्ण खोप लगाइसकेका प्रमुख घिमिरेले बताएका छन् ।