कबिता : 'भोक'
देवेन्द्र किशोर: भोक पेटकोआगो.होइन,
यो राष्ट्रको मौन
चिच्याहट हो।
खाली थालभित्र बजिरहेको इतिहास हो,
र पसिनाले भिजेको हातको अपमान हो।
सिंहदरबारका झ्यालहरू उज्यालै छन्,
तर गाउँका चुल्हा दिनौँदेखि चिसा छन्।
सत्ताको भोजमा गीत गुञ्जिरहेछन्,
तर खेतको
मालिक किसान
आफ्नै बारीको अन्न
किन्न बाध्य छन ।
कसैले फूलको
सुगन्ध गने,
कसैले प्रेमका
कविता सुनाए।
हामीले भने
रित्तो भाँडो देख्यौँ,
आमाको आँखा देख्यौँ,
जहाँ आँसु पनि सुकिसकेको थियो।
हामीलाई फूल होइन, भात चाहिन्छ।
भोकले सौन्दर्य चिन्दैन,
भोकले कविता
घोकेर बाँच्दैन।
भोकले रोटी खोज्छ,
न्याय खोज्छ,
बाँच्ने अधिकार खोज्छ।
बेरोजगार युवाको सपना
रोजगार कार्यालयको ढोकामा मर्छ।
किसानको पसिना
बिचौलियाको
खल्तीमा सुक्छ।
मजदुरको रगत
महलको इँटामा
लुकेको छ।
विकासको नाङ्गो अनुहार यही हो ।
हामी भोकै छौँ!
हाम्रो पेटमा आगो बलिरहेको छ।
त्यस आगोले अब चुल्हो मात्र होइन,
अन्यायका दरबार पनि तताउनेछ।
किनकि भोक
सधैँ झुकेर बाँच्न सिक्दैन।
कलमले पेट नभरिएला,
तर कलमले चेतना जगाउँछ।
कलमले प्रश्न उठाउँछ।
कलमले मौनता चिर्छ।
र जब शब्दहरू सडकमा ओर्लिन्छन्,
तिनीहरू कविता रहँदैनन्,
विद्रोह बन्छन्।
हामी गरिबी
लुकाउने पर्दा च्यात्छौँ।
हामी नाङ्गो सत्य लेख्छौँ।
हामी ती बच्चाहरूको
नाम लेख्छौँ
जो भोकै निदाउँछन्।
ती आमाहरूको
कथा लेख्छौँ
जसले आफ्नो
भागको गाँस
छोराछोरीलाई खुवाएर
आफू पानी पिएरै
रात काट्छन्।
अब फूलको होइन,
रोटीको गीत गाऔँ।
अब ताराको होइन,
जनताको
उज्यालो खोजौँ।
अब झुटा प्रशंसाको होइन,
सत्यको गर्जन लेखौँ।
यदि शासनले हाम्रो आवाज नसुने,
हामी चुप लाग्ने छैनौँ।
हाम्रो भोक नै
हाम्रो नारा हुनेछ।
हाम्रो आँसु नै
हाम्रो प्रमाण हुनेछ।
हाम्रो पसिना नै हाम्रो झण्डा हुनेछ।
साहित्य दरबारको मनोरञ्जन होइन,
जनताको श्वास हो।
कविता विलासिताको गहना होइन,
भोकको ज्वाला हो।
र जबसम्म एउटा पनि पेट खाली छ,
जबसम्म एउटा पनि किसान र मजदुर अन्यायमा बाँचेका छन्,
त्यतिबेलासम्म
हाम्रो कविता
मधुर गीत गाउने छैन—
अन्यायविरुद्ध गर्जिरहनेछन ।
नारा --
"हामीलाई कविता होइन, रोटी चाहिन्छ!"
"कलमले पेट नभरिएपनि,
कलमले विद्रोह जन्माउँछ!"
भद्रपुर -८ झापा






































