झापा — आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा नेपाली साहित्य परिषद् झापाको आयोजना, स्वतन्त्र आवाज प्रकाशनको संयोजन तथा वर्तमान साहित्य प्रतिष्ठानको सहसंयोजनमा भद्रपुर–१० वडा कार्यालयको सभाहलमा कवि गोष्ठी तथा कवि देवेन्द्र किशोर ढुङ्गानाको कविता सङ्ग्रह ‘एक मुठ्ठी भोक’ को लोकार्पण सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गंगाप्रसाद अधिकारीले कृतिको लोकार्पण गर्दै उक्त सङ्ग्रहले नेपाली समाजको यथार्थ चित्रण गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दालाई समेटेर मानवताको पक्षमा सशक्त आवाज उठाएको धारणा व्यक्त गरे।
सो अवसरमा स्थापित कविहरू बिरही अधिकारी, लता खरेल, डिल्लीराम नेपाल, उषा गुरुङ, राजु बराललगायतले आफ्ना कविता वाचन गरेका थिए। कार्यक्रम नेपाली साहित्य परिषद् झापाका अध्यक्ष देवेन्द्र किशोर ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमको शुभारम्भ स्वतन्त्र आवाज प्रकाशनका सञ्चालक, पत्रकार तथा कार्टुनिस्ट योगेश खपाङ्गीको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन परिषद्का महासचिव राजु बरालले गरेका थिए।
नेपाली साहित्य परिषद्को पुनः सक्रियतासँगै भद्रपुर क्षेत्रमा साहित्यिक गतिविधिले नयाँ उत्साह प्राप्त गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रमले भानुजयन्तीलाई सिर्जनात्मक ढंगले मनाउँदै साहित्यिक विमर्श र स्रष्टा सम्मानको वातावरण निर्माण गरेको आयोजकले जनाएको छl






































