काठमाडौं (कान्तिपुर दैनिकबाट )। संसद्को सबैभन्दा ठूलो दल एमाले औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार आफ्नो नेतृत्वमा नेकपा (एमाले–समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै गत फागुन २३ मा एमाले ब्युँताएपछि विभिन्न राजनीतिक र सांगठनिक मुद्दामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बढ्दै गएको मतभेद विभाजनसम्म पुगेको हो । एमाले विभाजनले ओली र नेपालबीचको पाँच दशक लामो सहकार्यमा ‘ब्रेक’ लागेको छ ।

OM Sai Pathibhara Hospital

पार्टीभित्र अध्यक्ष ओलीको ‘अपमानले आजित’ भएर ६९ वर्षको उमेरमा राजनीतिको नयाँ अध्याय सुरु गर्ने कठोर निर्णय लिएका नेपालका लागि ‘विद्रोह’ बाध्यात्मक कदम हुन सक्छ तर यो धेरै चुनौतीपूर्ण छ । २०४६ पछि संस्थापनबाट अलग भएर बनेका नयाँ पार्टी फस्टाएको उदाहरण छैन ।

यसअघि २०५४ फागुन २१ मा वामदेव गौतम नेतृत्वको समूहले एमाले फुटाएर नेकपा एमाले बनाएको थियो । त्यसबेला ओली र नेपाल एकै ठाउँमा थिए भने अहिले नेता झलनाथ खनालले नेपाललाई साथ दिएका छन् । तर, गौतमले भने हस्ताक्षर गरेका छैनन् । ‘वामदेव गौतमले मेरो सहमति छ तर अहिले जोडिन्नँ, पछि जोडिन्छु भन्नुभएको छ,’ नेता वेदुराम भुसालले भने । केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीलगायतले आयोग पुगेर नयाँ दल दर्ताको निवेदन दिएका थिए । नेपाललाई एमालेको केन्द्रीय कमिटी (२०३ सदस्यीय) का ५८ सदस्यले साथ दिएको पाण्डेको दाबी छ । कुल केन्द्रीय सदस्यमध्ये २८ दशमलव ५६ प्रतिशत छन् । तर, नयाँ दल भने ९५ सदस्यीय छ । तर, लामो समय नेपाल समूहमा रहेका मुख्य नेताहरूले भने निर्णायक बिन्दुमा उनलाई साथ दिएका छैनन् । केन्द्रीय सदस्यमा नाम भएका प्रदीप नेपालले आफू तटस्थ रहेको बताएका छन् भने कृष्ण खनाल र भानुभक्त जोशीले आफूहरू नेपाल नेतृत्वको पार्टीमा नरहेको घोषणा गरेका छन् ।