झापा / मानव शरीरको अङ्ग प्रत्यारोपणका लागि नातेदारको दायरा फराकिलो नभएकाले बिरामीले विदेश धाउनुपर्ने बाध्यता छ । 

भद्रपुर नगरपालिका–१० की गीता भण्डारीले दुवै मिर्गौला फेल भएपछि कानूनी अड्चनका कारण उपचारका लागि भारत जानुपर्ने भएको छ । आठ वर्षअघि मिर्गौलामा समस्या देखापरि हाल भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हेमोडाइलासिस सेवा लिइरहेकी भण्डारीको भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको तयारी गरिएको थियो । 

OM Sai Pathibhara Hospital

प्रत्यारोपणका लागि उनलाई काकाससुरा नेत्रप्रसाद भण्डारीले एउटा मिर्गौला दिने निधो भएपछि बुधबार मिर्गौलाको अन्तिम जाँचको नतिजाले ‘प्रत्यारोपण गर्न मिल्छ’ भन्ने रिपोर्ट आएपनि कानूनी अड्चनका कारण काकाससुराले मिर्गौला दान गर्न पाएनन् । प्रत्यारोपण केन्द्रमा प्रक्रिया अघि बढाउनका लागि बिहीबार कानुनी कागजात बुझाउँदा त्यहाँका कर्मचारीहरुले ‘काका ससुराले मिर्गौला दान दिन पाउने कानूनी व्यवस्था नरहेको’ भन्दै फर्काइदिएको उनका श्रीमान देवीचरण भण्डारीले जानकारी दिएका छन् । 

अब काकाससुराले नै मिर्गौला दान दिने गरी भारतको दिल्लीस्थित फोर्टिज अस्पतालमा प्रत्यारोपणका लागि यसै साता जाने तयारी गरेको उनले जानकारी दिनुभयो । भण्डारीले मुलुकको प्रत्यारोपण सम्बन्धी २०७२ सालको कानून अव्यावहारिक भएको गुनासो व्यक्त गरेका छन् । 

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन–२०५५ अनुसार परिवारका सदस्य र नजिकका नातेदारले अङ्ग दान गर्न पाउने व्यवस्था छ । जसअनुसार परिवारका सदस्य भन्नाले पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू र ससुरा उल्लेख छ ।

यसैगरी नजिकको नातेदारमा पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले मिर्गौला दान गर्न पाउने व्यवस्था छ । ऐनलाई केही खुकुलो बनाउँदै २०७३ सालमा संशोधन गरिएको थियो जसमा नजिकको नातेदार दुई परिवारमा मानव अङ्ग प्रत्यारोपणका लागि सट्टा गर्न पाउने समेत व्यवस्था छ ।

नेपालमा वार्षिक तीन हजारभन्दा बढीको मिर्र्गौला खराब हुने गरेको र हाल २८ लाख नेपाली कुनै न कुनै रूपमा मिर्गौलाको रोगी भएको नेपाल मिर्गौला केन्द्रको अनुमान छ ।