विराटनगर / मोरङको विराटनगरस्थित गोल्डेन अस्पताल तोडफोड गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पिलोको शल्यक्रिया गरिएका बिरामीको अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेपछि प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनपालथान–६ का ३४ वर्षीय मोहमद आजाद, ३३ वर्षीय मोहमद अख्तर, ३० वर्षीय मोहमद साजद, २३ वर्षीय मोहमद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहमद इरसाद र २० वर्षीय मोहमद सुवेर रहेका छन् ।
उनीहरूले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने माग राख्दै नाराबाजी समेत गरेका थिए ।
धनपालथान गाउँपालिका –६, कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मङ्गलबार राती १० बजे मृत्यु भएको थियो । मलद्वारमा रहेको पिलोको सामान्य शल्यक्रिया गरिएका हुसेनको अस्पताल र चिकित्सकको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका थिए ।
हुसेनको अस्पतालका सर्जन डा. सरोज राजवंशी नेतृत्वको चिकित्सक टोलीले सोमवार साँझ शल्यक्रिया गरेको थियो ।