काठमाडौँ / सन्
२०२१ को जुलाई महिनामा २१ हजार ८ सय ७७ जना नेपाली बाहिरिएका छन् । पछिल्लो समय
कोरोना महामारीका कारण नेपाल भित्रनेभन्दा बाहिरिने नागरिक सङ्ख्यामा वृद्धि हुन
थालेको हो।
अध्यागमन विभागका
अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जुलाई महिनामा नेपालीसहित कूल २५
हजार ३४ जना नेपालबाट बाहिरिएका छन् । नेपालबाट गत जुन महिनामा नेपाली तथा विदेशी
नागरिक बाहिरिनेको संख्या १३ हजार २ सय ५६ रहेको थियो ।
त्यसैगरी, विभागका
अनुसार २५ हजार २ सय ५ नेपाली नागरिक स्वदेश फर्किएका छन् । तीमध्ये २१ हजार ५ सय ९
पुरुष, तीन हजार ६ सय ९३ महिला र तीन अन्य नागरिक रहेका छन् । सो
अवधिमा नेपाली र विदेशी गरी २८ हजार १ सय ९६ जना नेपाल भित्रिएका छन् ।
पछिल्लो एक महिनामा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतबाट सबैभन्दा बढी विदेशी नागरिक
भित्रिएका छन् । सो अवधिमा नेपाल आएका ९९ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी
एक हजार १ सय ५ जना नेपाल आएका हुन् ।
त्यसैगरी, विभागका
अनुसार जुलाई महिनामा ९९ देशबाट एक हजार ९ सय ४० पुरुष, एक हजार ५० महिला र एक जना अन्य नागरिक
नेपाल भित्रिएका छन् । सो अवधिमा त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तीन हजार १ सय ५७ विदेशी पर्यटक आ-आफ्नो देश
फर्किएका छन् ।