नयाँदिल्ली / भारतमा पछिल्लो केहि दिनयता दैनिक ४० हजार जनामा कोरोना संक्रमण पुष्टी हुने गरेको छ । संक्रमितको अनुपात ३६ दिनदेखि ५० हजारभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन्।

कोरोना भाइरसविरुद्धको सतर्कता, खोप अभियानलगायतका कारणले अहिले दैनिक सङ्क्रमितहरुको सङ्ख्या ४० हजारको आसपासमा सीमित भएको अधिकारीहरुले जानकारी दिएका छन्।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा भारतमा थप ४० हजार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४२२ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १६ लाख ९४ हजार ९५८ पुगेको छ । त्यसैगरी कोरोनाका कारण मृत्यु हुनेको कुल सङ्ख्या चार लाख २४ हजार ७७३ पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ९४६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एकै दिनमा नयाँ थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने बढेको छ ।

भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड आठ लाख ५७ हजार ४६७ रहेको छ ।

भारतमा अहिलेसम्म ४७ करोड २२ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ भने अहिलेसम्म ४७ करोड २२ लाख २३ हजार ६३९ जनाको कोरोना परीक्षण गरिएको छ ।  पछिल्लो २४ घण्टामा १७ लाख छ हजार ५९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ