काठमाडौँ / सेवासुविधा र वृत्तिविकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन् ।
    
 साविकको कर्मचारी विनियमावली २०६१ मा रहेको तह १० मा आठ वर्ष र तह ११ मा पाँच वर्षको सेवा अवधि पूरा भएपछि स्वतःअवकाश हुने (क्यापिङ) सम्बन्धी व्यवस्था यथावत् राख्नुपर्ने लगायत ३२ सूत्रीय माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । 
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम वकर्स युनियन र नेपाल टेलिकम युनियन कर्मचारी युनियनको अगुवाइमा शुरु भएको आन्दोलनमा सञ्चालक समितिको २०७० साल साउन ६ गतेको निर्णय अनुसार प्रत्येक तीन/तीन वर्षमा नेपाल राष्ट्र बैंकको प्राइज इनडेक्सबमोजिम समायोजन हुनुपर्ने महँगी भत्ता समायोजन गरी लागू गर्न माग गरेका छन् । 
    
नेपाल टेलिकम वकर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले सम्बन्धित निकायसँग पटक पटक आग्रह गर्दा समेत माग सम्बोधन नभएपछि कर्मचारीले आन्दोलन गर्नुपरेको बताएका छन् ।