बिर्तामोड / कोरोना विरुद्ध जारी खोप अभियानमा खोपको व्यापक दुरुपयोग हुन थालेको छ  । संघीय राजधानी काठमाण्डौ , चितवन र नेपालगन्ज सहितका ठाउँमा सरकारी अधिकारी र जनप्रतिनिधिको मिलेमतोमा आफू निकटलाई मापदण्ड विपरीत खोप दिइएको भनेर आलोचना भईरहेका बेला प्रदेश एकमा पनि खोप दुरुपयोग भएका विषय सार्वजनिक भएका छन् ।

कोरोना नियन्त्रण, उपचार र खोपका कारण सरकारको आलोचना भईरहेका बेला उपलब्ध भएका खोप समेत दुरुपयोग हुन थालेको छ । प्रदेश एकमा प्रदेश सरकारकै अधिकारी र स्थानीय सरकारका प्रतिनिधिको संलग्नतामा खोपको दुरुपयोग भएको हो ।

OM Sai Pathibhara Hospital

प्रदेश १ सरकारकै सामाजिक विकास मन्त्री उषाकला राई केही समय अघि विराटनगरमा एमाले निकट उद्योगी व्यवसायीलाई मापदण्ड विपरीत खोप दिएको घटनामा संलग्न रहेको सार्वजनिक भएको थियो ।

केहिदिन अघि विराटनगर  महानगरपालिकाका प्रमुख भीम पराजुलीले कांग्रेस कार्यकर्ता र आफू निकटलाई लगाइदिन भनेर खोप नै बोकेर मध्यरातमा घर घरमा पुगेको घटना सार्वजनिक भएको थियो । मध्यरातमा स्थानीयले खोप दुरुपयोगमा संलग्नलाई सो स्थानबाट लखेटेका थिए ।

मन्त्री राई र मेयर पराजुलीको संलग्नतामा भएका खोप दुरुपयोगका घटना सेलाउन नपाउँदै बिर्तामोडका मेयर ध्रुव कुमार शिवाकोटीको संरक्षणमा मापदण्ड विपरीत कोभिड फोकल पर्सन बन्न सफल औषधि तथा औषधि जन्य सामाग्रीका बिक्रेता समेत रहेका नगरका स्वास्थ्य शाखाका कर्मचारी ओम खड्का होटलमा लुकाएर राखिएको १ सय ३ भायल खोप सहित पक्राउ परे।

बिर्तामोड १ स्थित होटल टायम लेसमा लुकाएको खोप सहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का पक्राउ परेका हुन् । आफन्त र आफुनिकटलाई होटलमा बोलाएर खोप लगाउने गरेको सूचना पाएपछि माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताले उनलाई शुक्रवार अपरान्ह ४ बजे खोपसहित नियन्त्रणमा लिएका थिए ।

खड्काले आफू होटेलमा नै क्वारेन्टाइनमा रहेकाले खोप ल्याइएको दावी गरेपनि होटलको अभिलेखमा भने खड्का शुक्रबार मात्रै इन्ट्री भएको देखिएको थियो ।

जिल्ला कोभिड खोप व्यवस्थापन समितिको शनिवार बसेको बैठकले खोप दुरुपयोगमा संलग्न रहेको अभियोग लागेका बिर्तामोड नगरपालिकाका स्वास्थ्य अधिकारी खड्कालाई छानविन पुरा नहुन्जेल सम्मका लागि निलम्बन गरेको छ ।