मेलम्ची / सिन्धुपाल्चोकको मेलम्ची नदिमा आएको बाढीले तटीय क्षेत्र प्रभावित बनेको छ । यसअघिको बाढीको क्षति भुल्न नसकेका स्थानीय थप भयवित र त्रसित बनेका छन् ।

शनिबार राति आएको बाढीले रेडियो मेलम्चीको भवन , झोलुङ्गे पुल र सर्वसाधारणको घरमा क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । शनिवार रातीको बाढीले रेडियो मेलम्चीको भवन नै बगाएको छ ।

बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी नै छ । मेलम्चीमा बाढीको सम्भावना कायम रहेकाले तटीय क्षेत्रमा बसोवास गर्नेलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

यसअघि गत असार १ गते आएको बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला पनि  रेडियो मेलम्चीको भवन बाढीमा डुबेको भएपनि क्षति भएको भने थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर हाल अर्को स्थानबाट रेडियो प्रसारण भइरहेको छ ।

बाढीका कारण हेलम्बुस्थित चनौटेको रातो पुलमा समेत क्षति पुगेको छ । मेलम्चीमा रहेको एउटै पुलमा समेत क्षति पुगेपछि हजारौं प्रभावित भएका छन् ।

मेलम्चीले धार परिवर्तन गरेकाले तालामाराङ प्रहरी चौकीको भान्छा र ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि बगाएको छ । नदीको तह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा परेको छ ।