बिर्तामोड / बढुवाका कारण तल्लो दर्जाका प्रहरीले वर्षौ कुर्नुपर्ने समस्या हल गर्नका लागि प्रहरीको वर्तमान नेतृत्वले थप तिन नयाँ दर्जा थप्नका लागि गृहकार्य अघि बढाएको छ ।
प्रहरी प्रधान कार्यालयले तल्लो तहमा देखिएको बढुवाको समस्या हल गर्नका लागि तयार पारेको तिन नयाँ दर्जा थपको प्रस्तावमा गृहमन्त्रालयले सहमति जनाएसँगै यो प्रकृया अघि बढेको छ ।
दर्जा थपको प्रस्तावमा जवान र हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार अनि सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ सई भनेर ३ वटा दर्जा थप्ने तयारी भएको प्रहरी उच्च स्रोतले जानकारी गराएको छ । सबैभन्दा तल्लो पद परिचरको हकमा भने सेवासुविधा वृद्धिको प्रस्ताव गरिएको छ ।
नयाँ दर्जा थपका लागि प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई गृहमन्त्रालयले सहमति जनाएसँगै थप बजेटका लागि सो प्रस्तावलाई अर्थ मन्त्रालयको सहमतिका लागि पठाइएको स्रोतले बताएको छ ।
प्रहरीको नयाँ प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति दिएको खण्डमा भने दर्जा थपको प्रस्ताव निर्णयका लागि मन्त्रिपरिषद्मा पेश गरिने छ । मन्त्रिपरिषद्को निर्णय पछि मात्रै यो प्रस्ताव कार्यान्वयनमा आउने छ ।