बिर्तामोड / कोरोना संक्रमण उच्च विन्दुमा पुगेपछि झापामा खुकुलो बनाइएको निषेधाज्ञालाई आजबाट थप कडा बनाइएको छ । शनिबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले संक्रमण उच्च बनेको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई कडा बनाउने निर्णय गरेको थियो ।
स्थानीय प्रशासनले निषेधाज्ञा कडा बनाउने निर्णय गरेको भएपनि झापाका सडकमा भने सवारीसाधनको आउजाउ बिहानैबाट बाक्लो रहेको छ । कार्यालय , पसल र संघ–संस्था पुर्णतया बन्द गरेका छन् । स्थानीय प्रशासनले संक्रमण उच्च विन्दुमा पुगेको जनाउँदै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिरबाट ननिस्कन समेत आग्रह गरेको छ ।
सङ्क्रमण उच्च विन्दुमा पुगेपछि स्थानीय प्रशासनले शनिबार राति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो । यसअघि नै संक्रमण बढेपछि झापका १० पालिका सिल गरिएका थिए ।
निषेधाज्ञाको अवधिमा पूर्वी सीमानाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ । सो नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकको हकमा भने अभिलेख राखेर नाकामै एन्टिजेन विधिबाट परीक्षणको व्यवस्था मिलाउने र कोरोना पोजेटिभ देखिएमा आइसोलेसन केन्द्र वा मेची अस्पतालमा लगेर उपचार गराउने व्यवस्था मिलाइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी गराएका छन् ।
निषेधाज्ञाको अवधिमा सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम र सेमिनार जस्ता कार्यक्रम गर्न नपाइने भएको छ । जिल्लाबाहिर जानुपर्ने भएमा सवारी पास लिनुपर्ने, उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सुरक्षाका मापदण्ड अपनाएर थोरै जनशक्ति प्रयोग गर्ने र उद्योगमा काम गर्नेका लागि खाना र बस्ने सुविधा उद्योग परिसरमै गर्नुपर्ने स्थानीय प्रशासनले जानकारी गराएको छ ।
निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था न्यून कर्मचारी प्रयोग गरी हप्तामा तीन दिन सञ्चालन गर्न दिने निर्णय भएको छ । सर्वसाधारणको हितका लागि बैंक तथा वित्तिय संस्थाको हकमा त्यस्तो निर्णय गरिएको तिम्सिनाले जानकारी गराएका छन् ।
त्यसैगरी निषेधाज्ञाको अवधिमा जिल्लाभरी छोटो दूरीका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने पूर्व–पश्चिम राजमार्ग भएर चल्ने लामो तथा मध्यम दूरीका सवारी साधनलाई भने अवरोध नगरिने स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाले जिल्लामा कोरोना सङ्क्रमणका कारण हालसम्म ४ सय ४५ जनाको मृत्यु भएको र आइसोशनमा २ हजार ४ सय १३ सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।