बिर्तामोड / भारतीय सिमा सुरक्षा बल एसएसबीले महाकालीमा नदीमा रहेको तुइन अन्तराष्ट्रिय कानुनको धज्जी उडाउँदै काटिदिँदा एक नेपाली नदीमा बेपत्ता भएको विषयमा सरकारले चासो देखाएको छ ।

एसएसबीले तुइनमा सवार रहेकै बेला काटिदिएकोले बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामीको विषयमा सरकारले चासो देखाएको हो ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री शेर बहादुर देउवाले सो घटना प्रति चासो देखाउँदै छानविन गर्न निर्देशन दिएपछि गृहमन्त्री बालकृष्ण खाँडले गृहसचिव  महेश्वर न्यौपानेको नेतृत्वमा छानविन समिति गठन गरेका हुन् । छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

संचार माध्यबाट तथ्य र प्रमाण सहित घटना सार्वजनिक भएको अवस्थामा समेत नेपाल सरकारको परराष्ट्र मन्त्रालय सो विषयमा बोलेको छैन । उता भारत सरकार र सरकार मातहतका अधिकारीले समेत सो विषयमा अझैसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।      

सदरमुकाम खलंगा जान मालघाटमा रहेको तुइनबाट महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिएपछि नदीमा खसेर धामी बेपत्ता भएका थिए । स्थानीयले सडक अभावका कारण तुइनबाट नदी तरेर भारतपट्टिबाट गाडीमा चढेर सदरमुकाम खलंगा जाने गरेका छन् ।

विवादीत नेपाली भूमि मानिएको महाकाली पारीको पाँगला गाउँमा भारतीय अर्धसैनिक बल एसएसबीको ब्यारेक रहेको छ । सोहि ब्यारेका सुरक्षाकर्मीले धामी तुइनमा रहेकै समयमा तार काटिदिएका थिए ।  

तुइन चढ्न गएका अन्य नेपालीले समेत सो समयको तस्विर कैद गर्न भ्याए पछि यो विषय सार्वजनिक भएको थियो । प्रत्यक्षदर्शीको अनुरोधलाई लत्याउँदै भारतीयले तुइन काटिदिएपछि उनीहरूले नेपाल सरकार मातहतका सुरक्षाकर्मीलाई घटनाका विषयमा जानकारी गराएका थिए ।

सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जयसिंहको खोजी गरिरहेको भएपनि अझै सम्म उनी फेला परेका छैनन् । नेपाली सेनाकै पूर्व सैनिक समेत रहेका धामी काठमाण्डौ जानका लागि सदरमुकाम जाने क्रममा बेपत्ता भएका हुन् ।

घटनापछि आक्रोशित दार्चुलाबासीले स्थानीय प्रशासनमा लिखित रुपमा नै निवेदन दिएर घटनामा संलग्न एसएसबीका जवानमाथि कारवाहीको माग गरेका छन् । स्थानियको लिखित रुपमा उजुरी नै परेपछि जिल्ला प्रशासन कार्यालयले भारतको स्थानीय प्रशासनलाई पत्राचार नै गरेर दोषी माथि कारवाही गर्न माग गरेको छ ।

सिमा क्षेत्रको पिथौरागढमा रहेको डिएम कार्यालय र एसडिएम कार्यालयलाई पत्राचार गरी घटनाका विषयमा छानविन गरी दोषी माथि कारवाही गर्न स्थानीय प्रशासनले माग गरेको हो । दार्चुलाकी निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले भारतीय पक्षबाट पत्रको जवाफ आईनसकेको वताएकी छन् ।

दार्चुला सदरमुकाम खलंगाबाट व्याँसको तिंकर जोड्ने गरी १३ वर्षअघि महाकाली लोकमार्ग निर्माण सुरु भएको थियो । तर, सडक अझै व्याँस गाउँपालिका– २ मालगाउँसम्म समेत पुगेको छैन । हालसम्म ४३ किलोमिटर सडकको ट्र्याक खोलिएको भएपनि तीन किलोमिटर मात्रै सडक निर्माण कार्य अघि बढेको छ ।

सदरमुकाम खलंगा जान पैदल मार्ग समेत नहुँदा सो क्षेत्रका स्थानीय तुइनबाट महाकाली नदी तरेर भारत तर्फबाट जाने गरेका थिए । ०६९ मा सात किलोमिटर सडक निर्माणको ठेक्का पाएको अमरसूर्य जेभीले  ९ वर्षमा चार किलोमिटर मात्र सडक निर्माण गरेको छ ।

एसएसबीको ज्यादतीको शृंखला

– सीमा अतिक्रमण विरुद्ध आन्दोलित किसुनदेव यादवको सप्तरीको लालापट्टीमा गोली हानि हत्या

–  नेपाली भुमिमा कल्भर्ट बनाउँदा कञ्चनपुरमा एसएसबीद्धारा गोली हानी गोविन्द गौतमको हत्या

– सुनसरीको हरिपुरमा ०७२ साल मंसिर ९ गते एसएसबीले गोली लागि अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते

– मोरङको अमाहिवरियातीमा एसएसबीद्धारा नेपाल प्रहरीका हवल्दार शम्भु चौधरीको हत्या प्रयास , उनलाई जोगाउन खोज्ने धनपालथान गाउँपालिकाका वासुदेव साहको हत्या

– सप्तरीको तिलाठीमा एसएसबीको ज्यादती , भारतीय पक्षले बनाएको वाधको विरोधमा उत्रिएका देवनारायण यादवसहित दर्जनौँ घाईते

–  नेपाली भुमिमा नै बनाएको पुल पर्साको ठोरीमा एसएसबीले भत्कायो

– गत २२ असारमा विराटनगर– २२ का ४५ वर्षीय युसुफ मियाँले खाना पकाउने ग्याँस भारतबाट ल्याएको भनेर घुस नदिएको भन्दै जोगवनीमा निर्घात कुटपिट