काठमाडौँ / लोडसेडिङ र प्राधिकरणभित्रका बेथिति अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी सुरु भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।
घिसिङलाई आगामी भदौ १ गते प्राधिकरणको वार्षिकोत्सव सकिएलगत्तै पुनः जिम्मेवारी दिने गरी काम अधि बढाइएको माओवादी केन्द्रको सचिवालयले जानकारी दिएको छ । उर्जा मन्त्रालय स्रोतका अनुसार घिसिङलाई कार्यकारी निर्देशक बनाउन फाइल उठाउने काम सुरु भइसकेको छ ।
घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । २०७७ भदौ २८ गते घिसिङको चार वर्षको कार्यकाल पुरा भएको थियो ।