काठमाडौँ / काठमाडौँको ठमेलबाट अवैध रुपमा घरेलु मदिरा कारखाना सञ्चालन गर्दै आएका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको जियाङ्गसु प्रान्त घर भएका सिजि जिहुई रहेका छन् । उनी पर्यटक भिसामा नेपाल आएका थिए ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ठमेलस्थित ज्याठामा अवैध रुपमा सञ्चालन भइरहेको घरेलु मदिरा कारखानामा छापा मार्दा उनलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङका अनुसार पक्राउ परेका जिहुई लामो समयदेखि सरकारी अनुमतिबिना नेपालमा ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ उत्पादन गर्दै आएका थिए । उनले भने, ‘ती चिनियाँ नागरिकले मेसिन नै राखेर अवैध रूपमा रक्सी उत्पादन गरिरहेका थिए।’
पक्राउ परेका जिहुइकाे कारखानाबाट प्रहरीले स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन र ११३ थान मदिरा उत्पादन हुने कच्चा पदार्थ बरामद गरेकाे महाशाखाले जनाएको छ।