बिर्तामोड / जिल्ला प्रहरी कार्यालयको टोलीले बरामद गरेको सुन र १७ लाख बढी रकममा अनियमितता भएको आरोप लागेको छ । केआइसिंह गाउँपालिका–६ भीताणीबाट प्रहरीले उक्त सुन र रकम बरामद गरेको थियो ।
रकम र सुन भारतबाट चोरी गरी ल्याएको आरोपमा प्रहरीले स्थानीय ६० वर्षीया काली भुललाई पक्राउ गरेको थियो । पक्राउ परेकी महिलालाई केही दिन हिरासतमा राखेर प्रहरीले छाडेको थियो । उक्त सुन र रकम प्रहरीले हिनामिना गरेको भन्दै स्थानिय प्रहरीसँग आक्रोशित बनेका छन् । उनीहरुले सुन र पैसाका विषयमा आधिकारीक जानकारी दिन माग गरेका छन् ।
केआइसिंह–६ भिताणी गाउँबाट बरामद गरिएको एक किलो १०० ग्राम सुन र रकमका विषयमा अहिलेसम्म पनि प्रहरीले आधिकारिक खबर सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालयको टोलीले स्रोत नखुलेको एक किलो १०० ग्राम सुनसहित १७ लाख ४७ हजार नगद बरामदसँगै भिताणी गाउँबाट दुई जनालाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका तत्कालीन प्रहरी नायब निरीक्षक धर्मानन्द जोशी नेतृत्वको टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट भुललाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बरामद गरिएको सुन तथा रकम प्रहरी प्रधान कार्यालयमा बुझाइएको छ । प्रहरीले उक्त प्रकरणमा जोडिएका अन्य व्यक्ति अझै फरार रहेको जनाएको छ ।
प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वाटरमार्फत आफूहरुलाई सूचना आएपछि बरामद गरिएको सुन र नगद प्रहरी प्रधान कार्यालयमार्फत सम्बन्धित धनीलाई बुझाएको बताएका छन्।