म्याग्दी / जिल्लाको अन्नपूर्ण
गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा
निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराले बगाएको छ । करिब डेढ सय मिटर सडक
पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल
पुल प्रयोगविहीन बनेको छ ।
शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी
लोकबहादुर पुर्जाले बताएका छन् । “जोखिम मोलेर खोलामा जङ्घार तरेर आवतजावत
गर्नुपर्ने बाध्यता छ”, उनी
भन्छन् , “आलुलगायत
कृषिउपज निकासी, खाद्यान्न र निर्माण सामग्री
आयात ठप्प भएको छ ।” शिख, किन्दु, स्वाँत, पाउद्वारका ३०० भन्दा बढी घरधुरी प्रभावित भएका
छन् ।
तत्कालीन जिल्ला प्राविधिक
कार्यालयले विसं २०७३ मा शुरु गरेको ३० मिटर लामो यो पुलको निर्माणलाई विसं २०७६
मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले पूर्णता दिएको थियो ।
स्वच्छन्द–गौचन जेभीले दुई करोड २५ लाखमा यो पुल निर्माणका
लागि ठेक्का लिएको थियो । लक्ष्यभन्दा दुई वर्ष ढिला गरी निर्माण सकिएको पुल दुई
वर्ष पनि प्रयोग गर्न नपाउँदै पहुँचमार्ग बगाएपछि स्थानीयवासी चिन्तित भएका छन् ।
पुलको अभावमा शिखदेखि स्वाँत र किन्दु जाने आउने सवारी साधन खोलाबाटै वारपार
गर्नुपर्ने बाध्यता छ । खोलामा बाढी आउँदा स्थानीयवासीलाई आवातजावत र ढुवानीमा
समस्या भएको छ ।
हालै स्वाँताखोलामा आएको बाढीले
शिखतर्फबाट पुलसम्म पुग्ने सडक जगदेखिनै बगाएको थियो । निरन्तर पहिरो खसिरहने
भएकाले पैदल हिँडेर आवतजावत गर्न पनि जोखिम र कठिनाइ भएको छ । बर्खा सकिएपछि पहिरो
नियन्त्रण र वैकल्पिक सडक निर्माणको पहल गरिने शिखका कार्यवाहक वडाध्यक्ष राजेश
तिलिजाले बताएका छन् ।