कालिकोट / कालीकोटमा पछिल्लो चरणमा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो
बनाएसँगै कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हो । निषेधाज्ञा
खुकुलो बनाएका कारणले नागरिक तथा सरोकारवाला निकायले कोभिड–१९ को मापदण्ड पालना नगर्दा कोभिडको सङ्क्रमण दर बढेको जिल्ला
जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
शनिबार २३ व्यक्तिको परीक्षण गर्दा १३ मा कोरोना सङ्क्रमण
देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमिक्त व्यवस्थापक कटकबहादुर महतले बताएका
छन् । उनि भन्छन्, “केही समयअघि
शून्यमा झरेको कोभिड–१९ को सङ्क्रमण
दर पछिल्ला दिनमा बढ्दै गएको छ ।”
सङ्क्रमण दर बढ्दै गएकाले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आजदेखि यही साउन २१ गतेसम्म
लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताएका
छन् । “शैक्षिक संस्था, सबै प्रकारका सभा, जुलुश, र्याली, गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन, भेला, सम्मेलन र सबै
प्रकारका खेल प्रस्तुतिमा रोक लगाइएको छ”, उनि भन्छन्, “जिल्लामा कोभिड–१९ को महामारीको
सङ्क्रमण दर बढ्दै गएका कारणले जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो
।”
हाल जिल्लामा सक्रिय सङ्क्रमित ७८ जना रहेका र त्यसमध्ये ३७
महिला र ४१ पुरुष रहेका छन् । तीमध्ये कोभिड–१९ विशेष
अस्पतालमा २० को उपचार भइरहेको, आइसोलेशन
सेन्टरमा २५ को उपचार भइरहेको र होम आइसोलेशनमा ३३ जना रहेका जिल्ला जनस्वास्थ्य
कार्यालयले जनाएको छ ।