फुङ्लिङ /
चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा
क्षेत्रका गोठबाट दुई वर्षयता याकहको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको
नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको
छ ।
फक्ताङ्लुङ–७
याङ्मावासी कान्दे ग्याबु शेर्पा परिवारको दिन याकगोठमा बित्छ । उनको पुख्र्यौली
पेशा नै हो याकपालन । शेर्पासँग ६० वटा डी (याकको माउ) छन् । उनले याक गोठमै ६५
वर्ष बिताइसक्नुभएको छ । याङ्मागाउँमा ११ घरपरिवारको बसोबास छ । सबैको मुख्य
पुख्र्यौली पेशा याकपालन हो ।
यहाँका याक
चीनको विभिन्न क्षेत्रमा निर्यात हुँदै आएको छ तर कोभिडका कारणले दुई वर्षयता याक
चीनमा निर्यात हुनसकेको छैन । चीनको नाका दुई वर्षदेखि बन्द भएपछि यहाँका
बासिन्दाले याक बिक्री गरेर आम्दानी लिनसकेका छैनन् । याक चीन निर्यात नहँुदा
याङ्मा बस्तीका समुदायमा आर्थिक सङ्कट लागेको स्थानीयवासी ठावा शेर्पाले बताएका
छन् ।
फिन्जो
शेर्पाका परिवार नै अहिले याक गोठमा छन् । उनको घर याङ्मा हो तर अहिले घरमा ताल्चा
लगाएर गोठमै याक बाछा स्याहार्न, दुहुनो याक दुहुन र छुर्पी
बनाउँदै दिन बित्छ । उनले पनि याक गोठबाट आम्दानी लिन सक्नुभएको छैन । दुई
वर्षअगाडि नौदेखि १२ वटासम्म याकका बाछादेखि बयस्क याक चीनमा बिक्री गर्दै आएको
शेर्पाले बताएका छन् । विगतमा याक बिक्री गरेर वार्षिक नौदेखि १५ लाखसम्म आम्दानी
लिँदै आएको भए पनि दुई वर्षयता याकबाट आम्दानी लिन नसकेको शेर्पाले बताएका छन् ।
एउटा याक एक
लाख ५० हजार रुपैयाँ सम्ममा चीनका निर्यात हुने गरेको याङ्माका स्थानीय याकपालक
टाँसी फिन्जो शेर्पाले बताएका छन् । चीनका नागरिकले याकको बाछापालनका लागि खरिद
गरेर लाने गरेको शेर्पाले बताएका छन् । वयस्क याक भने मासुका लागि खरिद गर्ने
गरेको स्थानीयवासीको भनाइ छ । याक गोठबाटै राम्रो आम्दानी लिँदै आए पनि अहिले
कोभिडका कारण नाका बन्द भएपछि आर्थिक सङ्कट बेहोर्दै आएको स्थानीयवासी छाम्जे
शेर्पाले बताएका छन् ।
समुद्र
सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने हिमाली बस्ती भएकाले यस क्षेत्रमा
खेतीपाती हुँदैन । चिसो र हिउँका कारणले याङ्मा क्षेत्र याकपालनका लागि अनुकूल
रहेको छ । याङ्माका प्रत्येक परिवारको याक गोठ छ । यहाँका समुदायको मुख्य आयस्रोत
पशुपालन हो ।
याकको बाछा, वयस्क याक, घ्यू, छुर्पी, चमर (याकको पुच्छर) चीनको
विभिन्न क्षेत्रमा राम्रो मूल्यमा निर्यात हुँदै आएको छ । याकको बाछा एक लाखसम्ममा
चीनमा बिक्री हुने गरेको सोनाम शेर्पाले बताएका छन् । याकको घ्यू र छुर्पी
प्रतिकिलो एक हजार २०० मा बिक्री हुने गरेको छ । पशुजन्य उत्पादनबाट याङ्मागाउँका
समुदायले विगतदेखि नै जीवन निर्वाह गर्दै आएका छन् ।
कोभिड–१९ का
कारणले चीनको टिप्ताला नाका दुई वर्षदेखि बन्द भएसँगै याङ्माका समुदायमा आर्थिक
सङ्कट लाग्न थालेको स्थानीयवासीको भनाइ छ । वितगमा याक बिक्री गरेर वर्षभरि पुग्ने
आवश्यक खाद्यान्न चीनबाट आयात गरिँदै आएको थियो तर दुई वर्षयता ताप्लेजुङको
सदरमुकाम फुङ्लिङ बजारदेखि खरिद मूल्यभन्दा तीन गुणा बढीमा ढुवानी गर्नुपरेको
स्थानीयवासीको भनाइ छ ।
कोभिडका
कारण दुई वर्षदेखि चीन टिप्ताला नाका बन्द हुँदा चीनसँगको सीमावर्तीका समुदायले
विभिन्न समस्या खेप्दै आएका छन् । ताप्लेजुङको ओलाङ्चुङगोला र याङ्मा क्षेत्रका
बढी प्रभावित हुँदै आएको छ ।