बागलुङ
/ जननेता मदन भण्डारीका नाममा बागलुङ नगरपालिका –३ चिप्लेटीमा
बहुउद्देश्यीय कभर्डहल निर्माण गरिएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले तीन वर्ष लगाएर कभर्डहल बनाएको हो।
बजेट
अभावमा गत वर्ष कभर्डहलको काम रोकिएको थियो ।
पहिलो वर्ष खेलकुद मन्त्रालयबाट आएको २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम
मात्र भएको थियो । मन्त्रालयबाट थप १० लाख बजेट थपिएपछि बाँकी काम पूरा भएको
एकेडेमीका अध्यक्ष कृष्ण कार्कीले बताएका छन् ।
“कभर्डहलको काम
करिब सकियो, छिटपुट
काम अहिले भइरहेको छ”,
उनी भन्छन् । पछिल्लो
बजेटबाट बार, झ्यालढोका, शौचालय, रङरोगन लगायतका काम गरिएको छ । कभर्डहल निर्माणका
लागि नगरपालिकाले जग्गा दिएको थियो । फलामको ट्रस्ट प्रविधिबाट कभर्डहल बनाइएको
हो ।
खेलकुद गतिविधि सहित अन्य
सामाजिक कार्यमा समेत उपयोग हुने गरी कभर्डहलको निर्माण
गरिएको हो ।
कभर्डहल मुख्यरूपमा
ब्याडमिन्टन
खेल लक्षित छ । आवश्यकता पर्दा
तेक्वान्दो, कराँतेजस्ता
खेलका लागि पनि कभर्डहलको प्रयोग गर्न सकिने
एकेडेमीले जनाएको छ ।
स्थानीयवासीले
सार्वजनिक हितका काममा समेत कभर्डहलको प्रयोग गर्न पाउने
भएका छन् ।
कभर्डहल निर्माणमा ढिलाइ
हुँदा यसअघि खेलप्रेमी र स्थानीयवासीले गुनासो गर्दै आएका थिए । गैह्रापाटा टोल
सुधार समितिका अध्यक्ष भक्त रसाइलीले कभर्डहल बनेपछि खेलकुदसँगै सामाजिक गतिविधिका
लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ
खेलाडी उत्पादनसँगै खेल गतिविधिको प्रवर्द्धनका लागि कभर्डहल बन्नु
सुखद् रहेको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताएका छन् । खेलाडी र खेल पूर्वाधारको
विकासका लागि नगरपालिकाले समेत लगानी बढाउनुपर्ने उनको भनाइ छ ।