तनहुँ / ज्यान मार्ने अभियोगमा
फरार एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले ज्यान मार्ने उद्योगमा
कैद र जरिवाना फैसला तोकिएका प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा व्यास नगरपालिका-१ स्थायी घर भई हाल व्यास-५ पतेनी बस्ने ४० वर्षीय पपे भन्ने पपेन्द्र राना रहेको जिल्ला प्रहरी
कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिएका छन् ।
निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०६० असार १२ गते आठ वर्ष कैद र ५२ हजार
रुपैयाँको जरिवानाको फैसला सुनाएको थियो ।
त्यसैगरी, प्रहरीले अन्य चार फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ ।
लागुऔषध र चरेसको मुद्दामा शुक्लागण्डकी नगरपालिका-१० खोरादी बस्ने २७ वर्षीय सुशील पोखरेल
पक्राउ परेका छन्। निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ जेठ २० गते चार दिन कैद र एक
हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
लागुऔषध चरेससमेत मुद्दामा शुक्लागण्डकी नगरपालिका-१० खोरादीकै सन्जु भन्ने ३४ वर्षीय
कृष्णबहादुर धिमाल पनि पक्राउ परेका छन् । निजलाई पनि सोही दिन चार दिन कैद र एक
हजार रुपैयाँ जरिवाना साथै २०० रुपैयाँ क्षतिपूर्तिको फैसला भएको थियो । लागुऔषध
डाइजेपाम समेत मुद्दामा व्यास–१ बस्ने २२ वर्षीय सन्तोष कार्की पक्राउ परेका
छन् ।
निजविरुद्ध अदालतले विसं २०७७ फागुन २६ गते दुई महिना २९ दिन कैद र १२ हजार
रुपैयाँ जरिवाना साथै ८०० रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
त्यस्तै लागुऔषध
मुद्दामा व्यास-३ शान्तिनगर बस्ने ३७
वर्षीय लक्ष्मण दनुवार पक्राउ परेका छन् । निजविरुद्ध अदालतले विसं २०७६ भदौ ३ गते
सात दिन कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत उपस्थित
गराइएको प्रहरीले जनाएको छ ।