बारा / प्रदेश नम्बर २ मा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को नक्कली सहि गरेर सवारी पास बनाउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर १७ निवासी २१ वर्षीय जयनारायण प्रसाद जयवाल र वडा नम्बर ३ निवासी ३० वर्षीय गोपाल प्रसाद कलवार रहेका छन् ।

जयसवाललाई जिल्ला प्रशासन कार्यालय बाराको किर्ते छाप र दस्तखत भएको सवारी पास प्रयोग गरेर सवारीसाधन चलाईरहेको अवस्थामा पक्राउ गरेपछि उनले दिएको बयानको आरोपमा कलवारलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतम मिश्रका अनुसार गत असार २६ गते शनिबारका दिन जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा प्रहरीले गर्ने नियमित सवारीसाधनको चेकजाँचका क्रममा कलैयादेखि काठमाडौँ जाँदै गरेको ना १ ज ७२८८ नम्बरको सुमो गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीधनि समेत रहेका चालक जयनारायण प्रसाद जयसवालले जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखतसमेत किर्ते गरी बनाइएको नक्कली सवारी पास प्रयोग गरेर सवारी चलाइरहेको पाइएको थियो ।

जयसवाललाई पक्राउ गरेर सोधपुछ गर्दा उनले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित मालपोत कार्यालय अगाडी गोपाल प्रसाद कलवार सञ्चालक रहेको दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट पास बनाएको बयान दिएका थिए । उनले दिएको बयानको आधारमा प्रहरीले स्टोरमा छापामारी गरेर खानतलासी गर्दा त्यहाँबाट थप ३ थान नक्कली सवारी पास र पास बनाउन प्रयोग गरिएका २ थान प्रिन्टर र १ थान कम्प्युटर लगायतका उपकरणहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय सिमरामा राखी लिखत सम्बन्धी कसुर (किर्ते मुद्दा) का आधारमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।