पर्वत / बाढीले क्षति पुर्याएपछि बन्द रहेको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन शुरु भएको छ । यही असार २२ गते राति आएको बाढीका कारण ठप्प रहेको आयोजनाको उत्पादन एक सातापछि आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।

जिल्लाको कुश्मा नगरपालिका८ दोबिल्लामा रहेको सुन्दरेखोलामा आएको बाढीले मुहान र झण्डै ३०० मिटर नहरमा क्षति पुर्याएको थियो । सोही दिन मोदीखोलामा आएको बाढीले मुहानमा समेत क्षति पुर्याएको थियो ।

OM Sai Pathibhara Hospital

लगातारको प्रयासबाट मर्मत सम्पन्न गरेर आइतबार साँझदेखि उत्पादन शुरु भएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिएका छन्   उनका अनुसार सुन्दरेखोलामा आएको बाढीले चार मिटर चौडा र चार मिटर उचाइ रहेको ३०० मिटर नहर पूर्णरूपमा पुरिएको थियो । आयोजनाका कर्मचारी र अन्य कामदार गरी दैनिक ५० जना परिचालन गरी मर्मत गरिएको थियो । आइतबार साँझदेखि नौ दशमलव पाँच मेगावाट विद्युत् उत्पादन भएको गौतमले जानकारी दिएका छन्  

बाढीका कारण आयोजनामा साढे चारदेखि पाँच करोड रुपैयाँ सम्मको क्षति भएको अनुमान गरिएको छ। मोदीखोलाको बहाव उच्च रहेकाले मुहानमा भएको क्षतिको विवरण अझै यकिन हुन नसकेको उनको भनाइ छ । आयोजनाको उत्पादन गृहमा भने कुनै क्षति भएको थिएन । सुन्दरेखोलामा आएको सोही दिनको बाढीले मध्यपहाडी लोकमार्ग आयोजनाको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका साइट इञ्जिनीयर राजाराम आचार्य र चालक इन्द्र थारु सवार गाडीसमेत बगाएको थियो ।

बगाएको गाडी फेला परे पनि आचार्य र थारुको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन । बाढीले क्षति पुर्याएको मध्यपहाडी लोकमार्ग एकतर्फीरुपमा सञ्चालन भएको छ ।