मनाङ /  बाढी पहिराको जोखिममा जीवनयापन गर्न बाध्य हिमाली जिल्ला मनाङमा उज्यालो छाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्री जडान कार्य भइरहेको छ ।

 विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले खरिद गरी पठाइएको सोलार जडान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उनका अनुसार जिल्लाका प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालयलगायतका सरकारी कार्यालयमा सोलार जडान भइरहेको छ ।

OM Sai Pathibhara Hospital

पीडामा परेको जिल्लामा हरेक विषयको अद्यावधिक हुनका लागि पनि सोलार जडान गरी सेवा र सूचना प्रवाहलाई प्रभावकारी बनाउन सोलार, इन्भर्टर र ब्याट्री पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन्  । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको हो ।

करिब १९ लाख रुपैयाँको सामान खरिद गरेर हेलिकोप्टरमार्फत चामे पठाइएको थियो । सामान ढुवानीका लागि लागेको चार लाख ३१ हजार रुपैयाँ गण्डकी सरकारले नै बेहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामग्री पठाइएको मुख्यमन्त्री पोखरेलले बताएका छन्  

सामान खरिद गरेर लमजुङ सदरमुकाम बेँसीशहरमा पुर्याइएको र शुक्रबार मनाङको सदरमुकाम चामे पुर्याई शनिबार जडान भइरहेको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताएका छन्   बाढीपहिराका कारण स्थानीयस्तरका लघु जलविद्युत् योजनामा क्षति पुगेकाले मनसुन शुरु भएसँगै मनाङ अन्धकारमा रहेको छ ।

विभिन्न स्थानका राष्ट्रिय प्रसारण लाइनमा जोडिएको पोल ढलेका कारण सदरमुकाम चामेसहित अन्य गाउँमा बिजुली बल्न सकेको छैन । असार मसान्तमा सम्पादन गर्ने काममा समेत बिजुली नभएकै कारण प्रभावित भएको अवस्थामा गण्डकी सरकारले सोलार सहयोग गरेर सहजता कायम गराएको प्रजिअ लामिछानेले बताएका छन्