खोटाङ / धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीको नाममा
रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा डोजर लगाएर भत्काएको छ । बराहपोखरीमा रहेको शङ्खेश्वर मन्दिरको
गुठी र आसपासमा
निर्माण भएका घरटहरा बराहपोखरी
गाउँपालिकाको जेसिभि लगाएर भत्काएको
हो ।
शङ्खेश्वर मन्दिरको गुठी
र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन यसअघि
स्थानीय बासिन्दालाई गाउँपालिकाको तर्फबाट तीन पटक समय दिइएको थियो । गाउँपालिकाले
दिएको समयलाई स्थानीय बासिन्दाले बेवास्ता गरेपछि विसं २०७७ मङ्सिर १८ गते बसेको
गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार मङ्सिर २१ गते सार्वजनिक जग्गा अतिक्रमण
गर्ने २७ जना व्यक्तिको नामावलीसहित अन्तिम पटक सूचना जारी गरिएको थियो ।
गाउँपालिकाले जारी गरेको
अन्तिम सूचनालाई पनि कतिपयले बेवास्ता गरेर बसेपछि सशस्त्र प्रहरी र नेपाल
प्रहरीको उपस्थितिमा सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा भत्काइएको
गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिएका छन् ।
गाउँपालिकाले जारी गरेको
सूचनालाई बेवास्ता गर्दै आफैँ घरटहरा नभत्काउने स्थानीय बासिन्दाको घरमा
गाउँपालिकाको जेसिभी चलाउँदा घरभित्र राखिएका दैनिक उपभोग्य वस्तु घरायसी सामान नै
पुरिएको प्रत्यक्षदर्शीले बताएका छन् । मापदण्डविपरीत
स्थानीय बासिन्दाले अतिक्रमण गरेर बनाएका घर तथा टहरा हटाएर सार्वजनिक सम्पत्तिको
रक्षा गर्दै गाउँपालिकालाई सुन्दर र व्यवस्थित बनाउने एउटा अभियान सफल भएको
गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले जानकारी दिएका छन् ।