काठमाडौँ / बागलुङमा पछिल्लो दुई महिनाका अवधिमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् । बेपत्ता हुनेमा ताराखोला गाउँपालिका-२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ 

वर्षातको शुरुमै जिल्लाका विभिन्न स्थानमा एक दर्जन भन्दा बढी घरपरिवार विस्थापित भएका थिए । उनीहरु छिमेकीकामा आश्रय लिएर बसेका छन् । काठेखोला ,बडीगाड र ताराखोला गाउँपालिका तथा गलकोट नगरपालिकाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याएको छ ।

OM Sai Pathibhara Hospital

पहिरामा २५ घर र तीन गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । मानवीय क्षति हुने सम्भावना बढेपछि जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको उनले बताएका छन् । बाढीपहिराबाट यस अवधिमा डेढ करोड रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको हवारीको भनाइ छ । जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको उच्च जोखिममा परेका छन् । अविरल वर्षाको कारण जैमिनी ७ जैदीका आठ घर र काठेखोला ७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन् । पहिरोको कारण तीन घरपरिवारले आफन्तकहाँ आश्रय लिएका छन् भने अन्य अन्य पाँच घरका व्यक्ति भने बसाइँ सरेको बताइएको छ ।

रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्ड अन्तर्गत जिरेदीको कालिका मन्दिरदेखि गगनपानीसम्मको सडकमा माथिबाट खसेको पहिरोको सडकमाथि र सडकमुनिका तीन घर विस्थापित भएको प्रहरीले जनाएको छ ।

जिल्लाको बरेङ गाउँपालिकामा पनि १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँपालिकाको धुल्लुबाँस्कोटमा १४ घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ।