नवलपरासी / बर्दघाट सुस्ता पश्चिम स्थित
बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण भएको छ । बर्दघाट- २ मा रहेको पहाडी
बस्ती बाँसखोला र संसारकोटमा विद्युतीकरणको सेवा पुगेको वडाध्यक्ष दया दर्लामीले
जानकारी दिएका छन्।
लुम्बिनी
प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले शुभारम्भ गरेको नेपाल विद्युत्
प्राधिकरणको पूर्ण ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विनियोजित बजेट र
बर्दघाट नगरपालिकको लागत साझेदारीमा विद्युत्को पहुँच पुगेको नेपाल विद्युत्
प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिएका छन् ।
उनका अनुसार ग्रामीण
विद्युतीकरण कार्यक्रमबाट ८५ लाख ९१ हजार २०३ रुपैयाँ र नगरपालिकाको नौ लाख
७८ हजार ७४६ रुपैयाँ लागतमा विद्युतीकरण गरी बाँसखोलाका ४४ मध्ये हाल ३०
घर र संसारकोटका सात घरमा शनिबारदेखि बिजुली बालिएको छ ।
विद्युतीकरणका
लागि आवश्यक ट्रान्सफरमरलगायत लाइन निर्माणका लागि आवश्यक सामग्रीका लागि नपुग रकम
नगरपालिकाले उपलब्ध गराएको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिएका छन्। विद्युतीकरणपछि गाउँमा खुशीयाली छाएको स्थानीयवासी
देवान गुरुङले बताएका
छन् । यसअघि पहाडी क्षेत्रका आम्बास, सुखौरा, धुरकोट फेदीमा केही
वर्षअघि बिजुलीको पहुँच पुगेको थियो । अब पटुके, बिहारीलगायतका
बस्तीमा विद्युतीकरणको सेवा पुग्न बाँकी रहेको छ ।