मोरङ / विराटनगरका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेको छ । कोरोना संक्रमितको उपचार गर्दै आएका प्रदेशकै ठुला अस्पतालमा अक्सिजन अभाव भएपछि थप विरामी भर्नामा समस्या आएको ति अस्पतालले जानकारी गराएका छन् ।

चार दिन देखि लगातार अक्सिजन अभाव हुन थालेपछि थप विरामी भर्ना लिन नसकिने अवस्था आएको ती अस्पतालले जानकारी गराएका छन् । देशभर अक्सिजनको अभाव हुँदा अक्सिजन दिंदै आएका सुनसरी र मोरङका ठुला उद्योगमा नियमित विद्युत आपुर्ति हुन नसक्दा अक्सिजन अभाव सुरु भएको हो ।

OM Sai Pathibhara Hospital

ठुलो संख्यामा कोरोना संक्रमितको उपचार गर्दै आएका कोशी अस्पताल , न्युरो हस्पिटल , नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजमा अक्सिजन अभाव सुरु भएको हो ।

यि अस्पताललाई मोरङको मारुती र हिमाल तथा सुनसरीको विनायक, पाथिभरा र दुर्गा उद्योगले अक्सिजन आपुर्ति गर्दै आएका थिए । नियमित विद्युत आपुर्ति नहुँदा अनि प्रदेश २ मा थप अक्सिजन आपुर्ति गर्नु परेकाले समस्या आएको ति उद्योगले जानकारी गराएका छन् ।

अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई हाईफ््लो अक्सिजन दिन भन्दै अस्पतालहरुको माग बढेपछि आपूर्तिमा समस्या आएको हिमाल अक्सिजन उद्योगका मेनेजर मोहम्मद नविलले बताएका छन्  । उनले माग बढेपछि २४ घण्टा उद्योग चलाउँदा पनि माग अनुसार आपुर्ति गर्न नसकेको बताएका छन् ।

प्रदेश १ मा हालसम्म ५६ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३५ हजार ५३२ जना संक्रमणमुक्त भएका छन् भने ८ सय ५८ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

न्यूरो अस्पतालद्वारा सञ्चालित कोभिड अस्पतालमा अक्सिजन अभावको कारण देखाउँदै थप विरामी भर्ना लिन बन्द गरिएको छ ।  अस्पतालका संचालक राजेश भट्टराईले अस्पतालमा ३८ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको तर दैनिक खपतको आधा मात्रै अक्सिजन आपूर्ति भइरहेको जानकारी गराएका छन् । उनले कोभिड अस्पतालमा दैनिक ९० वटा अक्सिजन सिलिण्डर चाहिने भएपनि अस्पतालमा २६ वटा अक्सिजन सिलिण्डर रहेकाले भर्दै ल्याउन उद्योगमा आएको समस्याले कठिनाई भएकाले थप विरामी भर्ना लिन छाडिएको बताएका छन् ।

विराट मेडिकल कलेजमा १०४ जना संक्रमित उपचाररत छन् । अस्पतालको क्षमता २ सय ९१ भएपनि अक्सिजन अभावले थप विरामी भर्ना गर्न नसकिएको सो अस्पतालले जनाएको छ । १ सय ८७ भन्दा बढी बेड खाली हुँदा पनि अक्सिजन अभावका कारण अस्पतालले थप बिरामी भर्ना लिन सकेको छैन । अस्पतालको दैनिक माग ८ सय ५० सिलिण्डर भएपनि हाल ४ सय ५० सिलिण्डर मात्र आपूर्ति भईरहेको छ ।

विराट मेडिकल कलेजका कार्यकारी अधिकृत डेनिस कार्कीले अस्पतालसँग ब्याकअप पनि नभएको र भर्ना भएका बिरामीलाई अन्यत्रै पठाउने अवस्था पनि नरहेकोले ठूलो चुनौतीको सामना गर्नु परिरहेको बताएका छन् ।

विराटनगरको कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा हाल ७५ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । अक्सिजन अभावका कारण ९६ शैयाको अस्पतालले थप बिरामी भर्ना लिन सकेको छैन । दैनिक ५ सय अक्सिजन सिलिण्डर खपत हुने गरेको यस अस्पतालमा हाल किस्ता किस्तामा माग आपूर्ति भइरहेको छ ।

अस्पतालका सुचना अधिकारी अनुपम राजवंशीले अक्सिजन समस्याका कारण थप विरामी भर्ना गर्ने अवस्था नरहेको बताएका छन् । उनले अक्सिजनको सहज व्यवस्था नभए ठुलै समस्या आउने भन्दै सरकारी निकायलाई सचेत समेत गराएका छन् ।

कोरोना संक्रमितको निःशूल्क उपचार हुँदै आएको विराटनगरको नोबेल मेडिकल कलेजले पनि अक्सिजन अभावका कारण आफ्नो क्षमता नै घटाएको छ । अस्पतालमा उपचारका लागि २२० बेड भएपनि अहिले अक्सिजन अभावका कारण वेड संख्या १९० बनाईएको छ । हाल १ सय ५५ जना संक्रमितहरुको उपचार भईरहेको भएपनि अक्सिजन अभावका कारण थप विरामी भर्ना गर्न नसकिएको अस्पतालले जानकारी गराएको छ ।