बनेपा / कोभिड –१९ को सङ्क्रमणदर आफ्नो गाउँपालिकामा पनि ह्वात्तै बढेपछि पालिकाभित्रका कोरोना सङ्क्रमित बिरामीको अवस्था बुझ्न गाउँपालिका अध्यक्ष दीननाथ गौतम घरदैलोमा पुगेका छन् । होमआइसोलेसन र अस्पताल आइसोलेसनमा रहेका बिरामीको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य सामग्री जुटाउने कार्यमा खटिरहेको गाउँपालिकाले जनाएको छ ।

काभ्रेपलाञ्चोकको कोशीपारि स्थित चौँरीदेउराली गाउँपालिकाभित्र होमआइसोलेसनमा बसिरहेकाका लागि गाउँपालिकाले सक्ने आवश्यक सामग्री जुटाउने र सहयोगी दातासम्म पनि आग्रह गर्दै सेवामा समर्पित हुने गरेको गाउँपालिका अध्यक्ष गौतमले बताए । अध्यक्ष गौतम स्वास्थ्यकर्मी र औषधि बोकेर वडा नं ७ मादनकुँडारी र वडा नं ६ कात्तिकेदेउरालीका होमआइसोलेसनमा रहेका बिरामी भेट्न पुगेका छन् ।

OM Sai Pathibhara Hospital

दुवै वडामा गरेर २८ सङ्क्रमित बिरामी होमआइसोलेशनमा उपचाररत छन् । भेटघाटको क्रममा बिरामीले सबै प्रकारको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेको पाइएको र बिरामी सामान्य अवस्थामा रहेको पाइएको छ । भेटमा गौतमले नियमलाई कडाइपूर्वक पालना गर्न, नआत्तिन, रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने खालको खानेकुरामा बढी जोड दिन अनुरोधसमेत गरेका छन् । सो अवसरमा उनले बिरामीका लागि गाउँपालिकाले गर्नुपर्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन्् ।

कोरोना सङ्क्रमण बढेपछि आफू सबै वडामा पुगेर सङ्क्रमितको अवस्था बुझ्ने र आवश्यक सहयोगलाई अगाडि बढाइरहेको अध्यक्ष गौतमले बताए । “हिजोआज स्वास्थ्यकर्मीसहितको टोली लिएर आफौँ बिरामीको अवस्था बुझ्न सबै वडामा पुग्ने प्रयत्न गरिरहेको छु”, उनले भने, “नपुगेको अवस्थामा स्वास्थ्यकर्मी वा बिरामीलाई फोन गरेर भए पनि अवस्था बुझ्ने गरेको छु ।” 

पछिल्लो समयमा छिमेकी जिल्ला रामेछापबाट दोरोम्बा र सुनापति गाउँपालिकाका सङ्क्रमितको उपचारका लागि धुसेनी शिवालय प्राथमिक अस्पतालमा उपचारका लागि ल्याउने गरिएको छ । धुसेनीमा उपचारका लागि ल्याइएको चार बिरामीमध्ये दुई कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् भने दुई उपचाररत छन् ।

सङ्क्रमित रहेका बिरामीलाई सेवा प्रदान गर्नका लागि गाउँपालिकाले दैनिकरूपमा प्रत्येक बिरामीलाई भेट्न र उनीहरुको स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी परिचालन गरेको छ । औषधि खुवाउन स्वास्थ्यकर्मी आफैँ होमआइसोलेसनमा पुग्ने गर्छन् । 

दैनिक स्वास्थ्यकर्मी आफ्नो आइसोलेशनकक्षमा जाँच गर्न र औषधि खुवाउन आएपछि बिरामीको मनोबल बढ्नुका साथै खुशी भएको पाइएको उनले बताए । उपचारका क्रममा अक्सिजनको आवश्यक परे गाउँपालिकाले सङ्क्रमितका लागि अक्सिजनसहितको सिलिण्डर समेत तयारी अवस्थामा राखेको जनाएको छ । बिरामीलाई अक्सिजन दिनै परे मात्र अस्पतालमा ल्याउने गरेको अध्यक्ष गौतमको भनाइ छ ।

गाउँपालिकाले वडा नं २, ३ र ५ मा गरी तीनवटा अस्पतालमा अक्सिजनसहितको १८ शय्याको आइसोलेशन बनाएर सेवा प्रदान गरिरहेको छ । सो क्रममा अहिले गाउँपालिकाले घरको आइसोलेसनमा नै बसेर उपचाररत रहन सुझाव दिएको र अस्पतालमा चाहिँ अक्सिनजन दिनैपर्ने बिरामीलाई मात्र भर्ना गर्ने गरिएको छ । बढी समस्या परेकालाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्नेलाई भने अरु अस्पतालमा सिफारिश गर्ने गरेको र अहिलेसम्ममा तीन सङ्क्रमितलाई सिफारिश गरिएको अध्यक्ष गौतमले बताए ।

बुधबार मात्रै पाँच कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किसकेको धुसेनी शिवालय प्राथमिक अस्पतालले जनाएको छ । गाउँपालिकाभरिमा बुधबारसम्ममा सक्रिय सङ्क्रमित सङ्ख्या ६० रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।