काठमाडौँ / कोरोनाभाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ। यो चीनको भन्दा ४०० बढी हो। 

गत वर्ष चीनमा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। त्यतिबेला कोरोनाबाट सडकमै ज्यान गएका तस्वीरहरू सञ्चारमाध्यममा आएका थिए। चीनले कडा बन्दाबन्दीसँगै कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिन, आइसोलेसन र स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड कडाइका साथ पालना गरेर संक्रमण नियन्त्रणमा लिएको थियो।

OM Sai Pathibhara Hospital

एक वर्षअघि कोरोना संक्रमण उच्च बिन्दुमा पुग्दा संक्रमितको संख्या ७८ हजार १६ पुगेको थियो। त्यतिबला दैनिक २ हजार ८०० भन्दा बढी संक्रमित थपिएका थिए। मृत्यु हुनेको संख्या पनि दैनिक १५० को हाराहारीमा थियो। त्यतिबेला मृत्यु हुनेको संख्या ४ हजार ६३२ पुगेको थियो। 

त्यसयता भने चीनले संक्रमणलाई नियन्त्रणमा लिएको हो। दैनिक थपिने संक्रमित र मृत्यु हुनेको संख्या पनि घट्दै आएको छ। गत एक वर्षयता नयाँ संक्रमितको संख्या औषतमा दुई अंकभित्रै रहेको छ। त्यस्तै, मृत्यु हुनेको संख्या त झन् दोहोरो अंकमा पनि पुगेको छ।

सोमबारसम्म चीनमा कोरोना संक्रमितको संख्या ९० हजार ८७२ पुगेको छ। त्यसमध्ये ४ हजार ६३६ जनाको मृत्यु भएको छ। त्यस्तै, ८५ हजार ९२५ जना निको भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या २९१ मात्रै रहेको छ। पछिल्लो २४ घण्टामा २५ जनामा मात्रै संक्रमण देखिएको छ। 

चीनमा संक्रमण फैलिएको एक वर्षपछि कोरोनाको दोस्रो लहरसँग जुधिरहेको नेपालमा भने मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ। त्यस्तै, आइतबार एकै दिन १४५ जनाको मृत्यु भएको थियो।

अहिले नेपालमा संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ। आइतबार मात्रै ७ हजार ३६८ संक्रमित थपिएका थिए। अहिले सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ पुगेको छ।

केही दिनयता नेपालमा पनि नयाँ संक्रमित थपिने क्रम घट्दै गएको छ। त्यस्तै, मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ।