काठमाडौं। कीर्तिपुरको ट्याङ्लाफाँटमा कारभित्र जलेर एक वृद्धको मृत्यु भएको घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गर्दै आत्मदाह भएको निष्कर्ष निकालेको छ। आर्थिक संकट र लामो समयदेखिको मानसिक तनावका कारण ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आफ्नै कारभित्र पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धानका क्रममा श्रेष्ठ आफैं कार चलाएर सुनसान स्थानमा पुगेको, गाडी रोकेर भित्रै पेट्रोल छर्किएको र त्यसपछि आगो लगाएको प्रमाण फेला परेको छ। प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज, प्रारम्भिक फरेन्सिक अध्ययन र पारिवारिक जानकारीका आधारमा बाह्य आक्रमण वा आपराधिक संलग्नताको संकेत नभेटिएको जनाएको छ।
अनुसन्धानअनुसार आगो लागेपछि एक स्थानीयले कारको ढोका खोल्ने प्रयास गरेका थिए। तर आगोको लप्काले उनको हातसमेत जलेपछि उनी पछि हटेका थिए। ढोका खुलिसके पनि चालक सिटमा बसेका श्रेष्ठ बाहिर ननिस्किएको र आगो नियन्त्रणमा लिएपछि उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
परिवारका सदस्यका अनुसार श्रेष्ठले कोभिड–१९ महामारीताका स्वास्थ्य सामग्री आयात व्यवसाय गरेका थिए। व्यापारमा ठूलो घाटा लागेपछि ऋणको भार बढेको र त्यसयता उनी मानसिक तनावमा रहँदै आएको बताइएको छ। पछिल्ला केही वर्षदेखि उनी अस्वाभाविक व्यवहारसमेत देखाउने गरेको परिवारको भनाइ छ।
प्रहरीका अनुसार आगलागी भएको कार २०६२ सालदेखि श्रेष्ठकै नाममा दर्ता रहेको थियो। घटनाबारे थप कानुनी प्रक्रिया जारी रहे पनि हालसम्मको अनुसन्धानले यो घटना आत्मदाहसँग सम्बन्धित रहेको देखाएको प्रहरीले जनाएको छ।






































